हेटौंडाः बागमती प्रदेश सरकारले आज (मंगलबार) प्रदेशसभामा बजेट प्रस्तुत गर्दैछ । आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले आगामी आर्थिक वर्ष २०७८/०७९ को वार्षिक बजेट दिउँसो ३ बजे प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।
प्रदेश सरकारले चालु आर्थिक वर्षको भन्दा केही बढाएर बजेट तयार गरेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जानकारी दिएको छ । चालु आर्थिक वर्षमा बागमती प्रदेश सरकारले ५१ अर्बको बजेट प्रस्तुत गरेकोमा आगामी वर्ष ५४ अर्बको हाराहारीमा बजेट प्रस्तुत गर्ने आर्थिक मामिला तथा योजना मन्त्रालयको तयारी छ । आगामी वर्षका लागि संघीय सरकारले बागमती प्रदेशलाई १४ अर्ब ७२ करोड ६८ लाख बजेट विनियोजन गरेको छ ।
गत जेठ २९ गते बसेको प्रदेशसभा बैठकले प्रदेश सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको थियो । बागमती प्रदेशसभामा विपक्षी दलहरुले हावादारी नीति तथा कार्यक्रम ल्याएको भनि चर्काे आलोचना गरेपनि बहुमतले नीति तथा कार्यक्रम पास भएको थियो । विपक्षी दलका सांसदहरुले संशोधनको प्रस्ताव दर्ता गराएपनि बहुमतले अस्वीकृत गरिदिएको हो । सांसदहरुले सरकारले ल्याउने बजेट जनमुखी बनाउन सुझाव दिएका थिए ।
प्रदेश सरकारले आज प्रस्तुत गर्ने बजेटमा विपक्षी तथा सत्तारुढ दलकै सांसदहरुको सुझाव पेश भएर आउँछ कि आउँदैन अन्यौल छ । आर्थिक मामिला तथा योजनामन्त्री ढुंगेलले प्रदेश अन्तर्गत्का सबै अस्पताल र कोभिड केन्द्रित भएर बजेट विनियोजन भएको जानकारी दिनुभयो । उहाँले स्वास्थ्य, शिक्षा, कृषि, रोजगारलक्षित नै बजेट आउने बताउनुभएको छ ।
गतवर्ष चालु आर्थिक वर्षको बजेट पास गराउन बागमती प्रदेश सरकारलाई बहुमत भएपनि निकै कठिन भएको थियो । बजेट पास गराउन विगतमा सांसदहरुलाई एक करोडको योजना बाँडिएको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रतिपक्ष दलका नेता शालिकराम जम्कट्टेलले सार्वजनिक गरेका थिए । यो वर्षमा सांसदहरुलाई खुशी पार्न उनीहरुको क्षेत्रमा कति करोडको योजना बा“डियो भन्ने पनि आज नै सार्वजनिक हुनेछ ।
नेकपा माओवादी केन्द्रको संसदीय दलले आउँदो बजेटमा धादिङको रुबी भ्याली एकीकृत योजना, सुरुङमार्ग योजना अघि नबढाउन, विद्युतीय बस खरिद नगर्न, प्रदेशबासीलाई खोपको व्यवस्थापन गर्नलागयतको ९ पृष्ठको सुझाव मुख्यमन्त्री डोरमणि पौडेललाई पेश गरेको थियो । दलका नेता जम्कट्टेलले सोही सुझावलाई बजेटमा समावेश गर्न पनि आग्रह गर्नुभएको छ ।
बजेट निर्माणका लागि सरकारलाई सुझाव दिन भनेर नेकपा एमाले बागमती प्रदेश संसदीय दलले नौ सदस्यीय सुझाव समितिसमेत निर्माण गरेको थियो । सांसद राजेन्द्र पाण्डेको संयोजकत्वमा गठित उक्त समितिले सरकारलाई केही सुझाव दिएको छ । तर त्यो बजेटमा आउँछ आउँदैन हेर्न बाँकी छ । समितिले सरकारलाई सुरुङमार्ग निर्माण कार्य अघि नबढाउन र विद्युतीय बस खरिद नगर्न नीति तथा कार्यक्रममाथिको छलफलमै सुझाव दिइसकेको छ ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पास गर्न नेकपा एमालेको माधव नेपाल पक्षले मुख्यमन्त्री पौडेललाई साथ दिएको छ । नेपाल पक्षका सांसदले साथ दिँदा आगामी वर्षको नीति तथा कार्यक्रम सांसदहरुको असन्तुष्टिकै बीच पास भयो । नेतृ अष्टलक्ष्मी शाक्यले यसलाई एकताको नयाँ परीक्षण भएको बताउनुभएको छ । माधव नेपाल पक्षका सांसदहरुको साथ पाएलगत्तै आगामी आर्थिक वर्षको बजेट पनि सरकारले सजिलै पास गर्ने अनुमान गरिएको छ ।