तराईका सुन्दर फाँट
आकाशले धर्तिसँग मितेरी गाँसेझैं
देखिने परको क्षितिज
साना साना रुखका बुट्यानहरु
छेउमा झ्याम परेका
खरका झुपडीहरु
बस्तिको बीचमा
खियाले खाएको टिनको
पुरानो दुइतल्ले घर
जो आफैंमा मुस्किलले ठडिएर
बाजे बराजुको जमिन्दारको
प्रतिनिधित्व गरिरहेको भान हुन्छ,
चाहे परिवर्तनको नाममा होस
चाहे सुविधा खोज्ने नाममा
खालि खाली भएको छ,
नितान्त एक्लै
आफ्नो अन्तिम
यात्राको पर्खाईमा ।
जसका जमिन छन्
ती त्यहाँ छैनन्
जो त्यहाँ छन्
तिनका जमिन छैनन्
तर पनि तराई हरियाली छ,
किनकी
त्यहाँ फल्ने हरेक अन्नमा
उनिहरुको पसिना छ,
अन्नको भण्डारमा बस्छन्
तर ढुकुटिको नाममा
रहेको एकमात्र माटोको कोठी
घरको कुनामा लडेर
डिगुरे मुसालाई खेल्ने
रंगशाला बनेको छ,
कति वसन्त आए
पालुवा पलाए झरे
बर्षातसँगै पोखरीका
कति पानी फेरिए
कहिले फेरिएन
यिनिहरुको जिवन,
फेरियो त केवल
परिवर्तनकारीहरुको जिवनशैली
केही नजिकका अनि केही
आसेपासेहरुको रवैया
बेचिए बाँडिएका सपनाहरु
ठडिए बस्ने आलिशान महल
अनि
फालेर एउटा राजा
जन्मिए असंख्य
राजाहरु ।