
हेटौंडाः जिल्ला प्रशासन कार्यालय मकवानपुरले अनुमति बिना राहत वितरण नगर्न आग्रह गरेको छ । शुक्रबार बसेको जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले राहत सामग्री वितरण गर्न इच्छुक व्यक्ति तथा संघ संस्थाले सम्बन्धित स्थानीय तह वा जिल्ला कोभिड–१९ व्यवस्थापन समितिबाट अनुमति लिई मात्र राहत वितरणको कार्य गर्न अनुरोध गरेको छ ।
बैठकको निर्णय अनुसार कोभिड–१९ बाट संक्रमित एवम् प्रभावित परिवारलाई राहत सामग्री वितरण गर्ने सम्बन्धमा कतिपय व्यक्ति तथा संघ संस्थाले सम्बन्धित निकायबाट अनुमति नै नलिई राहत सामग्री वितरण गरिरहेको सूचना एवम् गुनासो प्राप्त भएको बताइएको छ । यसै सन्दर्भमा राहत सामग्री वितरण गर्न इच्छुक व्यक्ति तथा संघ संस्थाले सम्बन्धित स्थानीय तह वा जिल्ला कोभिड–१९ व्यवस्थापन समितिबाट अनुमति लिई मात्र राहत वितरणको कार्य गर्ने र गराउने निर्णय गरेको हो ।

यस्तै उद्योग तथा प्रतिष्ठानहरूमा कार्यरत मजदूर कर्मचारीहरू कोभिड–१९ बाट संक्रमित भएमा उद्योग प्रतिष्ठानले आफैंले स्थापना गरेको आइसोलेशसन सेन्टर वा संस्थागत आइसोलेशसन सेन्टरमा निजहरूलाई राख्ने व्यवस्था उद्योग संघ, मकवानपुरले मिलाउने निर्णय भएको पनि जनाइएको छ ।
बैठकले कोभिड–१९ बाट संक्रमित भई संस्थागत आइसोलेशन तथा होम आइसोलेशनमा बसिरहेकाहरूलाई एकीकृत ग्रामीण विकास सेवा, मकवानपुरले सम्बन्धित पालिकासँग समन्वय गरी मनोसामाजिक परामर्श प्रदान गर्ने, कोभिड–१९ बाट संक्रमितहरूको उपचार गर्ने सन्दर्भमा हेटौंडा अस्पतालले बालबालिकामैत्री संरचना समेत तयार गर्ने, आगामी दिनमा हुनसक्ने कोभिड–१९ को तेस्रो लहर र बालबालिकाहरूलाई हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै हेटौंडा अस्पतालले आवश्यक पूर्वतयारी एवम् स्रोतसाधनको आँकलनसहित जिल्ला कोभिड व्यवस्थापन समितिको आगामी बैठकमा योजना पेश गर्ने निर्णय गरेको छ ।
यसैगरी स्वास्थ्य कार्यालय, मकवानपुर र सबै स्थानीय तहहरूले कोभिड–१९ को परीक्षणको दायरा एवम् संख्या बढाउने, निषेधाज्ञाको प्रभाव एवम् आगामी रणनीतिका सम्बन्धमा जिल्ला कोभिड व्यवस्थापन समितिका सदस्यहरू (आमन्त्रित समेत)ले क्षेत्रगतरूपमा आ–आफ्ना राय आगामी बैठकमा पेश गर्ने निर्णय गरिएको पनि जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।