हेटौंडाः जिल्ला प्रशासन कार्यालय मकवानपुरले निषेधाज्ञा उल्लंघन गर्नेहरूलाई कारबाही गरेको छ । बुधबार जिल्लामा जारी निषेधाज्ञा अटेर गरी हार्डवेयर पसल सञ्चालन गर्ने हेटौडा–४ का दिपेश खड्गी, हेटौंडा–२ का कपडा पसल सञ्चालन गर्ने विक्रम चौलागाई र मोबाईल पसल सञ्चालन गर्ने हेटौडा–२ का एसिस रिजाललाई जनहरी दुईदुई हजार जरिवाना गरेको हो ।

त्यस्तै निषेधाज्ञा उल्लंघन गरी सवारी साधन सञ्चालन गर्ने एक ट्याम्पो सहित २ सवारी साधनलाई ५ हजार जरिवाना गरेको छ । निषेधाज्ञा उल्लंघन गर्ने १३ वटा सवारी साधनको कागजपत्र प्रशासनले नियन्त्रणमा लिएको छ । बुधबार मास्क नलगाई हिंडडुल गर्ने १ जनालाई एक सय रुपैयाँ जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

हालसम्म निषेधाज्ञा उल्लघंन गरी सवारी चालएका ७५ जनालाई प्रशासनले कारबाही स्वरुप ४१ हजार २ सय जरिवाना गरेको छ । यस्तै मास्क नलगाई हिड्ने २ जनालाई २ सय रुपैयाँ जरिवाना गरेको प्रशासनले जनाएको छ ।