हेटौंडाः नेपाल राष्ट्रिय शिक्षक संगठन हेटौंडा उपमहानगर कमिटीले शिक्षकलाई खोप तत्काल उपलब्ध गराउन हेटौंडा उपमहानगरपालिकाको ध्यानाकर्षण गराएको छ । आइतबार हेटौंडाका मेयर हरिबहादुर महतलाई ज्ञापनपत्र बुझाउँदै शिक्षक संगठन हेटौंडा नगर कमिटीले लाखौ विद्यार्थीको माझमा जाने शिक्षकलाई खोप लगाएर उच्च मनोबलका साथ विद्यालयमा जाने वातावरण बनाइदिन आग्रह आग्रह गरेको छ ।
नयाँ शैक्षिक सत्र संचालन गर्नुपर्ने भन्दै अहिलेसम्म ३ जनाको शिक्षकको मृत्यु भइसकेको संगठनले ज्ञापनपत्रमा भनेको छ । लाखौ विद्यार्थीको माझमा पुग्ने शिक्षक वर्गलाई सरकारले खोप लगाउने प्राथमिकतामा नराखेको भन्दै सोचनिय विषय भएको बताएको छ ।
संगठनका नगर समिति अध्यक्ष मुकुन्द न्यौपाने र सचिव गोपीरमण प्याकुरेलले हस्ताक्षर गरेको ज्ञापनपत्र मेयर महतलाई बुझाइएको छ भने त्यसको बोधार्थ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय, नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति र नेपाल राष्ट्रिय शिक्षक संगठनमा पनि पठाइएको छ ।