हेटौंडाः हेटौंडा–११ स्थित ग्रामीण असहाय बालबालिका सामुदायिक पुनस्र्थापना केन्द्र (रुहेल सिआरसी) ले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौंडा अस्पताललाई अक्सिजन खरिद गर्नका लागि ९ लाख रुपैयाँ सहयोग गरेको छ ।
हेटौंडा अस्पताल परिसरमा पुगेर केन्द्रले बुधबार एक महिनासम्म दैनिक ५० सिलिण्डर खरिद गर्ने गरी ९ लाख रुपैयाँ सहयोग गरेको हो । बुधबार १ सय वटा अक्सिजन सिलिण्डरसहित केन्द्रले ९ लाख रुपैयाँ हस्तान्तरण गरेको हो । रुहेल सिआरसीकी अध्यक्ष सुमित्रा काफ्लेले अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाईंलाई रकम हस्तान्तरण गर्नुभएको हो ।
सहयोग हस्तान्तरण कार्यक्रममा रुहेल सिआरसीकी अध्यक्ष सुमित्रा काफ्लेले विषम् परिस्थितिमा सबै क्षेत्रबाट सहयोग हुनुपर्ने धारणा राख्नुभयो । कोरोना भाइरस संक्रमणले देशलाई समस्या परेको समयमा रुहेल सिआरसीले साहयोग गरेको भन्नुहुँदै उहाँले सबैकुरामा सरकारसँग मात्र भर पर्न नहुने, नागरिक तथा सबै सामजिक संघ संस्थाको पनि दायित्व हुनुपर्ने बताउनुभयो ।
सहयोग ग्रहण गर्नुहुँदै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार समेत रहनुभएका राजेश प्रसाईंले रुहेल सिआरसीले गरेको सहयोग हालसम्मकै सबैभन्दा ठूलो सहयोग रहेको बताउनुभयो । मकवानपुरवासीले हेटौंडा अस्पताललाई सहयोग गरिरहेको भन्नुहुँदै उहाँले सहयोगी हातकै कारण हेटौंडा अस्पतालमा अक्सिजनको अभाव हालसम्म नभएको बताउनुभयो । दैनिक रुपमा विभिन्न संघ संस्थाको तर्फबाट सहयोग आउने क्रम रहेको जानकारी गराउनुहुँदै उहाँले सहयोगी हातहरुप्रति धन्यवाद समेत व्यक्त गर्नुभयो ।