हेटौंडाः हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखाले म्याद गुज्रिएका विद्यालयका व्यवस्थापन समिति अस्थायी रुपमा गठन गर्न सम्बन्धित वडा कार्यालय र विद्यालयलाई निर्देशन दिएको छ । बैशाख ३१ गते बसेको शिक्षा समितिको निर्णयअनुसार कोरोना भाइरस संक्रमणका बेला विद्यालयमा आइपर्ने समस्यालाई मध्यनजर गरी स्थानीय शिक्षा ऐन बमोजिम अस्थायी व्यवस्थापन समिति गठन गर्न निर्देशन दिइएको हेटौंडा उपमहानगरपालिकाका शिक्षा अधिकृत रामचन्द्र खड्काले जानकारी दिनुभएको छ ।
अभिभावक भेला गरेर तत्काल विद्यालय व्यवस्थापन गठन हुन नसक्ने स्थितिमा अस्थायी विद्यालय व्यवस्थापन समिति गठन गरी विद्यालयको नियमित कामकाज गर्न सकिने व्यवस्था मिलाइएको हेटौंडा उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख गंगाधर रिमालले जानकारी दिनुभएको छ । महाशाखा प्रमुख रिमालका अनुसार वडा कार्यालय र विद्यालय प्रशासनको समन्वयमा अस्थायी समिति गठन गर्न भनिएको छ ।
यसैबीच हेटौंडा–२ स्थित सिद्धार्थ माविमा साविककै समितिलाई अस्थायी समितिको रुपमा क्रियाशील गराउन वडा कार्यालयले निर्देशन दिएको विद्यालयका प्रधानाध्यापक मोहनप्रसाद शर्माले जानकारी दिनुभएको छ । व्यवस्थापन समिति गठन हुन नसकेको अवस्थामा उपमहानगरपालिकाको शिक्षा समितिको निर्णयअनुसारको पत्र वडा कार्यालयमा पुगेपछि वडाले विद्यालयलाई पनि साविककै समितिलाई अस्थायी समितिको रुपमा काम गर्न निर्देशन दिएको हो । यससँगै मधु बजगाईको अध्यक्षतामा सिद्धार्थ माविमा अस्थायी व्यवस्थापन समिति गठन भएको छ ।