हेटौंडाः कोभिडको महामारीमा राजनीति नभएर मानवता देखाउनु पर्ने कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँले बताउनुभएको छ । बागमती प्रदेश सरकारले विकासको बजेट काटेर भएपनि स्वास्थ्य पूर्वाधार तयारी अवस्थामा राख्नुपर्ने उहाँको भनाई छ ।

मकवानपुरको स्वास्थ्य अवस्था कमजोर भएकोले त्यसलाई मजबुत बनाउन प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरेको जनाउँदै प्रतिष्ठानलाई प्रदेश सरकारले सहयोग गरेर अस्पतालमा आइसियू, भेन्टिलेटरहरु उपलब्ध गराउनुपर्ने उहाँले माग गर्नुभयो । हेटौंडा अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्न प्रदेश सरकारले विशेष चासो राख्नुपर्ने उहाँको भनाई थियो ।

शुक्रबार हेटौंडा अस्पताललाई एक सय ९ अक्सिजन सिलिन्डर उपलब्ध भएको छ । युवा संघ मकवापुरले ५० थान अक्सिजन सिलिन्डर उपलब्ध गरायो भने उद्योग वाणिज्य संघ मकवानपुरले ५९ अक्सिजन सिलिन्डर भरेर हेटौंडा अस्पताललाई उपलब्ध गराएको छ ।

उद्योग वाणिज्य संघले पनि छुट्टै आफ्नो अतिथि भवनमा आइसोलेसन सेन्टर संचालन गर्ने तयारी गरेको छ ।संघका अध्यक्ष कृष्ण कटुवालले यसको लागि मकवानपुरका प्रमुख जिल्ला अधिकारीसँग छलफल भइरहेको जानकारी दिनुभयो । यता स्वास्थ्य कार्यालय लगायत स्थानीय तहले होम आइसोलेसनमा बसेकाहरुको अवस्था बुझन नगएको अवस्थामा उद्योग वाणिज्य संघले होम आइसोलेसनमा बसेकाहरुको अवस्था बुझन जाने भएको छ ।

शनिबारबाट प्राविधिकसहित औषधी नै लिएर जाने अध्यक्ष कटुवालले बताउनुभयो । मकवानपुरमा होम आइसोलसनमा बस्नेको संख्या २३ सय पुगेको छ । उनीहरु मध्ये धेरै संक्रमितहरु होम आइसोलेसनमा बसेको भनिएपनि बाहिर हिडिरहेका छन् । जसले जोखिम बढाएको छ । यस्तै आवश्यक परेमा तत्काल उद्योग वाणिज्य संघले २५ थान अक्सिजन सिलिन्डर अस्पताललाई उपलब्ध गराउनेछ ।