हेटौंडाः कोभिड–१९ संक्रमण नियन्त्रण र स्वास्थ्य उपचारमा सहयोग पुर्याउन गैरसरकारी संस्थाहरुले पहल गर्ने भएका छन् । गैरसरकारी संस्था महासंघ मकवानपुर शाखाले आइतबार आयोजना गरेको मकवानपुरमा कोभिड संकट व्यवस्थापनमा नागरिक समाज संघसंस्थाको भूमिका विषयक भर्चुअल छलफल कार्यक्रममा बोल्दै गैरसरकारी संस्थाकर्मीले यस्तो बताउनुभएको हो ।
गैरसरकारी संस्था महासंघ बागमती प्रदेश इन्चार्ज बुद्धशरण लामाले जटिल परिस्थितिमा अत्यावश्यक अक्सिजन सहयोग गर्दै सरकारसँग समन्वय र सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । गैरसरकारी संस्था महासंघ मकवानपुरका अध्यक्ष कृष्ण धितालले कार्ययोजना बनाएर नियमित साप्ताहिक छलफल गरी आवश्यक सहयोग र पहल गर्ने बताउनुभयो । कार्यक्रममा नागरिक समाज, गैरसरकारी संस्था महासंघका कार्यसमिति, संघसंस्थाको प्रतिनिधि, पत्रकारसहित ३४ जनाको सहभागिता रहेको थियो ।