हेटौंडाः प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लिनुभएको छ । शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो ।

वैशाख २७ गते संसदबाट विश्वासको मत नपाएपछि पदमुक्त हुनुभएका ओलीलाई राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (३) अनुसार बिहीबार राति प्रधानमन्त्री नियुक्त गर्नुभएकी थिइन् । राष्ट्रपतिबाट शपथ लिनुभएका ओलीले आजै सिंहदरबार आएर पदभार ग्रहण गर्दै हुनुहुन्छ ।

प्रधानमन्त्री ओलीले आफू पदमुक्त हुनुअघिको मन्त्रिपरिषदका सबै सदस्यलाई पुरानै मन्त्रालयको जिम्मेवारी दिनुभएको छ । नियुक्त भएका २१ मन्त्री र तीन राज्यमन्त्रीहरुले पनि शुक्रबार नै शपथ लिएका छन् ।

संविधानको धारा ७६ को ३ अनुसार प्रधानमन्त्रीमा नियुक्त हुनुभएका प्रधानमन्त्री ओलीले अब ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । अबको ३० दिनभित्र संसदमार्फत प्रधानमन्त्री ओलीले विश्वासको मत लिन सक्नुभएन भने फेरि संविधानको धारा ७६ को ५ अनुसार सरकार गठनको प्रक्रिया सुरु हुन्छ ।

७६ को उपधारा ५ मा प्रधानमन्त्रीले विश्वासको मत लिन नसके प्रतिनिधि सभाका कुनै पनि सदस्यले विश्वासको मत प्राप्त गर्न सक्ने आधार तय गर्न सकेमा राष्ट्रपतिले त्यस सदस्यलाई प्रधानमन्त्रीमा नियुक्त गर्न सक्ने व्यवस्था छ । तर धारा ५ अनुसार बनेको प्रधानमन्त्रीले पनि विश्वासको मत लिन सक्नुपर्छ । त्यसो हुन नसके देश मध्यावधि चुनावमा जान्छ ।