हेटौंडाः कोभिड–१९ संक्रमितहरुको संख्या जिल्लामा तिव्र रुपमा बढ्दै गएपछि प्रशासनले निषेधाज्ञालाई कडाइ पारेको छ । शुक्रबारदेखि प्रशासनले जिल्लामा चलेका सवारी जाँचमा कडाई गरेको हो । बिहान १० बजेदेखि ३ बजेसम्म मात्रै निर्माण सामग्री बोक्ने सवारीलाई चल्न दिइएको छ ।
जिल्लामा शुक्रबार राति १२ बजेदेखि १३ जेठ राति १२ बजेसम्म निषेधाज्ञा अवधि थपिएको छ । यसअघि मकवानपुरको चार स्थानीय तहमा निषेधाज्ञा थियो । अब जिल्लामा पूर्ण निषेधाज्ञा जारी हुने प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए । उनका अनुसार हेटौंडा बजार बाहेकका अन्य स्थानीय तहहरुमा बिहान ५ बजेदेखि ८ बजेसम्म अतिआवश्यक खाद्यान्न, दुध, तरकारी, फलफुल पसल संचालनमा आउनेछन् । हेटौंडामा भने साताको २ दिन मंगलबार र शुक्रबार मात्रै बिहान ५ बजेदेखि ८ बजेसम्म ति पसलहरु खुल्न पाउँनेछ ।
यस्तै बैंक अब साताको २ दिन मात्रै खुल्ने छ । अन्य वित्तिय संस्था, फाइनान्स, सहकारी, आईएमई, इन्सोरेन्स कार्यालयहरु भने पूर्ण रुपमा बन्द हुनेछ । जिल्लामा अहिले २ हजार बढी सक्रिय संक्रमित छन् भने ५१ जनाको कोभिडको कारण मृत्यु भइसकेको छ ।