Home मुख्य समाचार मकवानपुरमा सिलिन्डर हैन, भएका सिलिन्डरमा अक्सिजन भर्न समस्या

मकवानपुरमा सिलिन्डर हैन, भएका सिलिन्डरमा अक्सिजन भर्न समस्या

हेटौंडाः मकवानपुरमा पर्याप्त अक्सिजन सिलिन्डरहरु भएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताउनुभएको छ । उहाँले जिल्लामा अक्सिजन सिलिन्डर अभाव नभएको तर खालि भएका सिलिन्डरमा अक्सिजन भर्नमा समस्या भएको बताउनुभयो । खाली सिलिन्डरमा उद्योगले अक्सिनज भर्न ढिलाई गर्दा समस्या आएकोे उहाँको भनाई छ ।

आइतबार पत्रकारसँग कुरा गर्दै कोभिड अस्पताल बनाइएको हेटौंडा अस्पतालमा दैनिक ठुलो खालको ९० सिलिन्डर प्रयोगमा आइएरहेको उहाँले जानकारी गराउनुभयो । जिल्लामा ३ सय सिलिन्डर अक्सिजन भरेर राखिएको छ । जिल्लामा रहेको ३ अक्सिजन सप्लार्यस र विभिन्न उद्योगहरुको संकलन भएको सिलिन्डर गरी १५ सय थान सिलिन्डर हुन्छ । जिल्लामा ८० प्रतिशत सिलिन्डर औद्योगिक उत्पादनको लागि प्रयोग हुँदै आएको छ भने २० प्रतिशत मात्रै अस्पतालमा प्रयोग भएको छ ।

जिल्लामा पुग्ने अक्सिजन सिलिन्डर भएपनि खालि सिलिन्डरमा उद्योगले समयमै नभरिदिँदा समस्या आउन सक्ने उहाँको भनाई छ । मकवानपुरमा अक्सिजन उत्पादन हुने प्लान्ट छैन । औद्योगिक क्षेत्रमा पनि सबै सिलिन्डर प्रयोग हुँदै आएको छ । जिल्लाबाट खालि सिलिन्डरमा अक्सिजन भर्न चितवन, विरगञ्ज वा अन्य जिल्लामा पठाउनुपर्ने हुन्छ । अन्य जिल्लाहरुको सिलिन्डर उतै राख्ने गरेको पनि पाइयो ।
यसअघि जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई शिवम् सिमेन्टले ४२ थान अक्सिजन सिलिन्डर दियो । त्यसलाई भर्न चितवन पठाउँदा उतै रोकिएको प्रजिअ पाण्डेको भनाई छ । अक्सिजन भर्ने कारखानामा पठाइएको सिलिन्डर नै उनीहरुको भएकोले उतै रोकियो । विकल्पको लागी हेटौंडा अस्पतालमा अक्सिजन प्लान्ट संचालनमा ल्याउन प्रदेशको सामाजिक विकास मन्त्रालयसँग सहकार्य भइरहेको प्रजिअ पाण्डे बताउनुभयो ।

निषेधाज्ञा लम्बाउँने प्रशासनको तयारी

१९ बैशाखदेखि मकवानपुरका चार स्थानीय तहमा निषेधाज्ञा जारी भयो । हेटौंडा उपमहानगर, थाहा नगर, भीमफेदी गाउँपालिका र मनहरीको हाइवेको ५ सय मिटर दायाँ र बाँया निषेधाज्ञा जारी भएपछि जिल्लामा संक्रमित बढ्को बढ्यौ छ । निषेधाज्ञा नलगाउँदा झनै बढ्ने थियो । अहिलेको अवस्था झनै जोखिमयुक्त भएकोले थप समय लम्बिने देखिएको प्रजिअ पाण्डेले बताउनुभयो । उहाँले जिल्लामा निषेधाज्ञा हुँदा बजार व्यवस्थापन, भीडभाड नियन्त्रण कसरी गर्ने भन्नेबारेमा पत्रकारहरुसँग राय समेत लिनुभएको छ ।

सोमबारबाट सवारीमा कडाई

निषेधाज्ञामा विशेष गरेर हेटौंडामा गुड्ने सवारीहरुमा सोमबाट कडाई गरिने भएको छ । अतिआवश्यक नभई अन्यलाई घरबाहिर ननिस्कन प्रमुख जिल्ला अधिकारी भरमणि पाण्डेले आग्रह गर्नुभएको छ । साना सवारीहरुलाई कडाइ गर्न प्रहरीलाई उहाँले निर्देशन दिने बताउनुभएको हो । साथै उहाँले जिल्लामा एम्बुलेन्सको अभाव सिर्जना हुनै नदिने ढंगले काम गरिरहेको बताउनुभयो । उहाँले एम्बुलेन्स नपाइएमा जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत दिलीप श्रेष्ठलाई ९८४५०२७७९४ मा सम्पर्क गर्न आग्रह गर्नुभयो ।

किसानको तरकारी र दुध बजारसम्म आउने वातावरण बनाइने

प्रमुख जिल्ला अधिकारीले जिल्लाका विभिन्न स्थानमा किसानहरुले उत्पादन गरेको तरकारी, उत्पादन भएको दुधलाई बजारसम्म ल्याएर खपत गराउन पहल गर्ने बताउनुभएको छ । अहिलेको अवस्थामा जिल्ला निषेधाज्ञा कडाईका साथ लम्बिन सक्ने भन्दै नागरिक आफैपनि सर्तक हुनुपर्ने बताउनुभयो ।

Exit mobile version