हेटौंडा अस्पतालको एचडियु वार्ड अनुगमन गर्नुहूँदै प्रमुख जिल्ला अधिकारी । फाइल तस्वीर ।

हेटौंडाः कोरोना संक्रमित भई हेटौंडा अस्पतालको एचडियु वार्डमा उपचाररत एकजना बुधबार डिस्चार्ज भएका छन् । हेटौंडा–१८ की ५६ वर्षीय महिला एचडियु वार्डमा ३ दिनको उपचारपछि स्वास्थ्य अवस्था सामान्य भएसँगै डिस्चार्ज भएको हेटौंडा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य उत्सव चौलागाईले जानकारी दिनुभएको छ ।

आकस्मिक बाहेक अन्य सेवा अवरुद्ध गरेर कोभिड अस्पतालको रुपमा सञ्चालित हेटौंडा अस्पतालमा अक्सिजन प्लान्ट जडान भएका २५ बेडको जनरल वार्ड, ३० बेडको एचडियु वार्ड र ६ वटा भेन्टिलेटरसहित ७ बेडको आइसियु वार्ड रहेको छ । बुधबार दिउँसो ३ बजेसम्ममा आइसियु वार्डमा १ जना, एचडियु वार्डमा १७ जना उपचाररत छन् ।