हेटौंडाः नेपाली कांग्रेसनिकट कोभिड १९ अनुगमन समिति मकवानपुरले जिल्लाको १० वटै स्थानीय तहमा कोरोनाको दोश्रो लहरले पारेको प्रभाव र अवस्थाबारे अनुगमन गर्ने भएको छ । समितिको शनिबार बसेको बैठकले अनुगमनको साथसाथै अत्यावश्यक स्वास्थ्य सामग्री वितरण गर्ने निर्णयसमेत गरेको छ ।

समितिका जिल्ला संयोजक उत्सव ईटेनीको सभाध्यक्षतामा बसेको बैठकले समितिका सदस्यहरु मणिराज गौतमलाई सचिव, जानुका गिरीलाई कोषाध्यक्ष र स्वास्थ्यकर्मी सुधीर दाहाललाई सदस्यमा मनोनित गरेको छ । बैठकले कोरोना जोखिम न्यूनीकरणका लागि कोरोना कोष खडा गर्ने निर्णय गरेको छ ।

समिति सदस्य सुधीर दाहालले समितिलाई उपलब्ध गराउनुभएको एकहजार थान मास्क र ५ लिटर सेनिटाइजर सहयोगका लागि धन्यवाद ज्ञापन गरेको छ । बैठकमा नेपाली कांग्रेस हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, समितिका सदस्यहरु रामकृष्ण कोइराला, सञ्जय श्रेष्ठ, सुनिल गिरी, सुजन बिडारी, डोल्मा स्याङ्वो, मदन जोशीलगायतको उपस्थिति रहेको थियो ।