हेटौंडाः बागमती प्रदेश सरकारले अभिभावकविहीन बालबालिकालाई मासिक भत्ता उपलब्ध गराउन थालेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले अभिभावकविहीन बालबालिकालाई मासिक २ हजारका दरले भत्ता उपलब्ध गराउने कार्य सुरुवात गरेको भए पनि त्यस्ता बालबालिकाको एकिन तथ्यांकको अभावले कार्यक्रम प्रभावित हुने भएको हो ।
मन्त्रालयले अभिभावकविहीन बालबालिकाका लागि प्रदेशका १ सय १९ वटै स्थानीय तहमा बजेट निकासा गरेको छ । तर, हालसम्म ३१ वटा स्थानीय तहबाट मात्र तथ्यांक संकलन भएको मन्त्रालयले जानकारी दिएको छ । प्रदेशका ८८ वटा स्थानीय तहले अझै अभिभावकविहीन बालबालिकाको तथ्यांक संकलन नगर्दा कार्यक्रम कार्यान्वयनमा समस्या हुने देखिन्छ ।
मन्त्रालयले चालु आर्थिक वर्षमा महानगरपालिका र उपमहानगरपालिकाका लागि ५ जना, नगरपालिकाका लागि ४ जना र गाउँपालिकाका लागि ३ जनालाई मासिक भत्ता वितरणका लागि रकम उपलब्ध गराएको छ । अभिभावकविहीन बालबालिकालाई मासिक २ हजार रुपैयाँ भत्ता उपलब्ध गराउने गरी मन्त्रालयले महानगरपालिका र उपमहानगरपालिकालाई एक लाख २० हजार, नगरपालिकालाई ९६ हजार र गाउँपालिकालाई ७२ हजार रुपैयाँ उपलब्ध गराएको मन्त्रालयका सामाजिक विकास महाशाखा प्रमुख गोपाल कँडेलले जानकारी दिनुभयो ।
मन्त्रालयले सुरुवातमा थोरै बालबालिकाको लागि बजेट उपलब्ध गराएको भए पनि प्राप्त तथ्यांकको आधारमा आगामी वर्ष बजेट वृद्धि हुनसक्ने कँडेलले बताउनुभयो । अहिले निकासा भएको रकमबाटै धेरै बालबालिका भेटिएका कतिपय स्थानीय तहले दामासाहीले भत्ता वितरण गरेको उहाँले जानकारी दिनुभयो ।
आर्थिक वर्षको अन्त्यतिर आइसक्दा पनि स्थानीय तहहरुले अभिभावकविहीन बालबालिकाको तथ्यांक संकलन गर्न नसक्नुले आगामी वर्षको बजेट विनियोजनमा समस्या हुने सामाजिक विकास महाशाखा प्रमुख कँडेलले बताउनुभयो । अभिभावकविहीन बालबालिकाको संख्याको आधारमा बजेट विनियोजन गर्नुपर्ने भए पनि हालसम्म बालबालिकाको तथ्यांक संकलन नै हुन नसक्दा समस्या हुने उहाँले जानकारी दिनुभयो ।
कोभिड–१९ का कारण चालु आर्थिक वर्षमा कार्यक्रम प्रभावकारी हुन नसकेको बताउँदै महाशाखा प्रमुख कँडेलले अभिभावकविहीन बालबालिकाको संरक्षण गर्नु राज्यको दायित्व भएका कारण मासिक भत्ताको व्यवस्था गरिएको भए पनि यकिन तथ्यांक नै नहुनुले समस्या हुने बताउनुभयो ।