हेटौंडाः ‘आफ्ना ३ वटा छोराछोरीको निकै याद आउँछ, उत्तिकै माया लाग्छ । फूलजस्तै छोरी, मायालाग्दो छोरा, बालापन आहा, कति रमाइलो’ यो स्मरण हो, हरिहर रामको ।
उमेरले ६० वर्ष नाघेका राम भारतीय नागरिक हुन् । विगत १० वर्षदेखि हेटौंडामा बस्दै आएका रामले आफ्नो छोराछोरीको यादमात्र आफूसँग रहेको बताउनुभयो । बुढेसकालमा आफ्नो सहारा बन्नुपर्ने छोराहरु नजिकै रहेर पनि पराईजस्तै भएको पीडा रामले व्यक्त गरे । ‘छोराछोरीको याद आफूसँगै भए पनि उनीहरु भौतिकरुपले मात्र नभई भावनात्मकरुपले पनि टाढा भएका छन्’, रामले भने– ‘सबैले आ–आफ्नै बाटो रोजे । सम्झनामै भए पनि तिनै छोराछोरीलाई बाँच्ने आधार बनाएको छु ।’
भारतको पूर्वी चम्पारणको लक्ष्मीपुरका रामका ३ सन्तान छन् । उनका २ छोरा र १ छोरी रहेका छन् । छोरीको विवाह भइसकेको छ । छोरीले विवाह गरेर गएपछि हालसम्म घरमा नआएको उनले बताए । उनका २ छोराहरु हेटौंडामै काम गरिरहेका भए पनि राम एक्लै बस्ने गरेका छन् । उनका जेठो छोरा अजित बैण्डमा काम गर्छन् भने कान्छो छोरा थानाभर्याङमा गाडीको त्रिपाल सिलाउने काम गर्दै आइरहेका छन् ।
रामकी श्रीमती भने भारतमै सामान्य ज्यालादारी तथा पशुपालन गरेर बसिरहेकी छिन् । चाडपर्वको बेलामा राम आफ्नो घर जाने गरेको बताउँछन् । उनी हेटौंडा–१०, आनन्दटोलमा डेरामा बसिरहेका छन् । आफ्नो नामसमेत लेख्न नसक्ने रामले बुढेसकालको सहारा बन्नुपर्नेे छोराछोरीहरु नै आफूबाट टाढा भैदिँदा दुःख लागेको बताए ।
वर्षौंदेखि हेटौंडाको सीमाचोक आसपासमा सडक पेटीमा बसेर जुत्ता सिलाउने, पोलिस गर्ने काम गर्दै आएका रामले ‘छोराछोरीले नयाँ पाए, मैले सबै गुमाएँ’ भन्दै दुःखेसो व्यक्त गरे । एउटै शहरमा भएर पनि दुबै छोरा आफूसँग नहुँदा रामले छोराहरुप्रति दुःखेसो पोखेका हुन् ।
बिहानबाट बेलुकासम्म सडकमा बसेर काम गर्दा पनि बेलाबेलामा नगर प्रहरी आएर दुःख दिने गरेको उनले बताए । जुत्ता सिलाएर दैनिक तीन–चार सय रुपैयाँ आम्दानी हुने गरेको भएपनि आफ्नो पेट पाल्ने सामान नै कहिलेकाहीँ नगर प्रहरीले उठाएर लगिदिँदा रुँदै कोठामा फर्किनुपरेको पीडासमेत उनले व्यक्त गरे ।