हेटौंडाः झरना साहित्यिक परिवार मकवानपुरलाई ‘झरना’ साहित्यिक पत्रिका प्रकाशनका लागि आर्थिक सहयोग प्राप्त भएको छ । बकैया–५ स्थायी घर भई हाल अमेरिकाको कोलोराडोमा बस्दै आउनुभएका बासुदेव खनालले पत्रिका प्रकाशनका लागि वार्षिक ५० हजार सहयोग गर्नु भएको हो ।

झरना साहित्यिक परिवारका पूर्वकार्यसमिति सचिव तथा विशिष्ट आजीवन सदस्य खनाल र उहाँकी जीवनसंगिनी सम्झना आचार्यले संस्थाको क्रियाशीलतालाई कायम राख्न वर्षेनि नियमितरुपमा उक्त आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको झरना साहित्यिक समाजका अध्यक्ष दीपक गौतमले जानकारी दिनुभयो । प्रतिबद्धताअनुरुप पहिलो वर्षको सहयोग रकम प्राप्त भएकाले झरना साहित्यिक समाजको कार्यसमिति बैठकले खनाल दम्पतीलाई आभार व्यक्त गरेको अध्यक्ष गौतमले बताउनुभयो ।

झरना साहित्यिक परिवारले अर्धवार्षिकरुपमा ‘झरना’ साहित्यिक पत्रिका प्रकाशन गर्दै आएको छ । पत्रिका प्रकाशनका लागि नियमितरुपमा आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएकोमा खनाल र आचार्य दुबैलाई पत्रिकाको ‘संरक्षक’मा राख्ने निर्णय गरेकोसमेत अध्यक्ष गौतमले जानकारी दिनुभयो ।