हेटौंडाः १९ औं संस्करणको आहा रारा गोल्डकप विजेता संकटा क्लबसँग हेटौंडाको विजय युथ क्लब पराजित भएको छ । सिमरामा जारी विश्वकर्मा सिमेन्ट जीतपुरसिमरा गोल्डकपको अन्तिम क्वार्टरफाइनल खेलमा विजय युथ क्लब संकटासँग २–१ गोल अन्तरले पराजित भएको हो ।

सुरुवाती गोलबाट अग्रता लिएको संकटाले दबाव कायम राख्दै जित हात पार्न सफल भयो । खेलमा १ गोल फर्काएको विजय युथले गोल गर्ने थप केही मौका पाएपनि फिनिसिङ गर्न नसक्दा हार व्यहोरेको छ ।

नवजनजागृति युवा क्लबको आयोजना तथा जीतपुरसिमरा उपमहानगरपालिकाको विशेष सहयोगमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि बैशाख ११ गतेका दिन हुनेछ ।