हेटौंडाः हेटौंडा क्याम्पसमा शुक्रबार प्राथमिक उपचार कक्ष स्थापना गरिएको छ । हेटौंडा ४ मा रहेको क्याम्पसमा अध्ययनरत विद्यार्थी, प्राध्यापक, कर्मचारीहरु आकस्मिक बिरामी पर्दा प्राथमिक उपचारका निम्ति क्याम्पस परिसरमा प्राथमिक उपचार कक्ष स्थापना गरिएको हो ।
बागमती प्रदेशसभा सदस्य एवम् क्याम्पस सञ्चालक समिति अध्यक्ष मुनु सिग्देलले उपचार कक्षको उद्घाटन गर्नुभएको छ । प्राथमिक उपचार कक्ष स्थापनाबाट विद्यार्थीहरु सामान्य बिरामी पर्दा वा चोटपटक लाग्दासमेत कक्षा छाडेर अस्पताल पुग्नुपर्ने समस्या हट्ने र यसले सिकाइमा समेत सकारात्मक प्रभाव पर्ने सञ्चालक समितिका अध्यक्ष मुनु सिग्देलले बताउनुभयो ।
कक्षमा हेटौंडा क्याम्पसका प्राध्यापक एवम् अहेवद्वय दीपेन्द्र ढकाल र ध्रुव लामिछानेले प्राथमिक उपचार गर्नुहुने बताइएको छ । करिब १ लाख रुपैयाँको लागतमा निर्माण गरिएको उपचार कक्षमा बिरामीका लागि एक थान बेड हेटौंडा उपमहानगपालिका वडा नम्बर ७ का अध्यक्ष राजन थापाले सहयोग गर्नुभएको हो भने अन्य व्यवस्था क्याम्पसको आन्तरिक स्रोतबाट जुटाइएको क्याम्पसका स्वास्थ्य सेवा एकाइका संयोजक विद्या दाहालले जानकारी दिनुभयो ।
उद्घाटन कार्यक्रममा क्याम्पस प्रमुख डा. देवचन्द्र मानन्धर, सहायक क्याम्पस प्रमुख देवीराम लामा, रामबहादुर भण्डारी, सञ्जय बस्नेत, अतिरिक्त क्रियाकलाप प्रमुख मनोज पोखरेललगायतको उपस्थिति रहेको थियो ।