हेटौंडाः मकवानपुर जिल्ला फुटबल संघले आगामी जेठ महिनामा जिल्ला लिग फुटबल गर्ने भएको छ । कोरोना महामारीका कारण वि.सं. २०७७ सालको जिल्ला लिग फुटबल २०७८ साल जेठमा हुने भएको मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीकाराम लामाले बताउनुभयो ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले यसै वर्षको चैत महिनामा जिल्ला लिग गरिसक्न संघअन्तर्गत्का सबै जिल्लामा लिखित निर्देशन दिए पनि मकवानपुरमा भने लिग जेठ महिनामा सर्ने भएको हो । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा भएको शहीद स्मृति मकवानपुर गोल्डकपपछि तुरुन्तै जिल्ला लिग फुटबल आयोजना गर्न आवश्यक तयारी गर्नका लागि समय अभाव भएको कारण यो महिना लिग गर्न नसकिएको अध्यक्ष लामाको भनाई रहेको छ । बैशाख महिनामा आवश्यक तयारी पूरा गरी लिग आयोजना गर्ने उहाँले बताउनुभयो । प्रतियोगिता जेठमा हुने भएपनि निश्चित मिति भने तय गरिएको छैन । अबको केही दिनमा संघको बैठक बसी मिति तय हुने पनि उहाँले जानकारी दिनुभयो ।
यस पटकको लिगमा १० टिमको सहभागिता हुने भएको छ । लिग खेल्ने ८ टिम तय भइसकेका छन् भने बा“की २ टिम जिल्ला भरीबाट सहभागी हुन चाहने टिमहरुबीच नकआउट प्रतियोगिता गरी उत्कृष्ट २ टिमलाई जिल्ला लिगमा स्थान दिइनेछ । प्रतियोगिताका लागि छनोट चरणमा ३० देखि ३२ टिमको सहभागिता रहने सम्भावना रहेको जिल्ला फुटबल संघले जनाएको छ । यस्तै १० टिमबीच हुने लिग प्रतियोगितापछि समूहको पुछारमा हुने २ टिम भने रेलिगेसनमा पर्नेछ । अर्को वर्ष फेरि नकआउट खेल आयोजना गरी लिगको लागि २ टिम छनोट गरिने अध्यक्ष टीकाराम लामाले जानकारी दिनुभयो ।
अध्यक्ष लामाका अनुसार जेठको पहिलो साताबाट उत्कृष्ट २ टिम छनोटका लागि नकआउट चरणको खेल हुनेछ भने जेठको अन्तिम साता वा असारको पहिलो साताबाट मात्र लिग चरणका खेल हुनेछ । लिग प्रतियोगिताका लागि गतवर्षको जिल्ला लिगमा उत्कृष्ट ८ मा प्रवेश गरेका टिमले नकआउट चरणका खेल खेल्नपर्ने छैन । जिल्ला लिगमा चयन भएका टिममा साबिक विजेता डाँफे युवा क्लब, एफसी पोताला, विजय युथ क्लब, मदन भण्डारी स्पोर्टस् एकेडेमी, हटिया स्पोर्टस् एकेडेमी, बुद्ध युवा क्लब हात्तीसु“डे, शहीद स्मृति क्लब फापरबारी र रियल स्टार युवा क्लब पदमपोखरी रहेका छन् ।
जिल्ला लिग फुटबल प्रतियोगिताको पुरस्कार राशि यसवर्ष बढ्ने वा सोही कायम रहने भन्ने कुरा पनि निश्चित भएको छैन । गतवर्ष प्रतियोगिताको पुरस्कार १ लाख रुपैयाँ रहेको थियो भने यस पटक सो भन्दा बढि रकम कसैले प्रायोजन गरेमा पुरस्कारको नगद राशि बढ्नसक्ने अध्यक्ष लामाको भनाई रहेको छ । नकआउट चरणको छनोट खेल खेल्ने टिमले भने कुनै पुरस्कार नपाउने पनि उहाँले जानकारी दिनुभयो ।