हेटौंडाः राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताअन्तर्गत्को हेटौंडा उपमहानगर छनोट सम्पन्न भएको छ । नगर खेलकुद विकास समिति हेटौंडाको समन्वय र सिद्धार्थ माविको संयोजनमा भएको छनोट प्रतियोगितामा शुक्रबार एथलेटिक्सतर्फका बाँँकी ३ खेल, कबड्डी र पुरुष भलिबलको खेल भएपश्चात् छनोट सम्पन्न भएको हो ।

हेटौंडा उपमहानगर भित्रका १७ वटा विद्यालयले सहभागिता जनाएको एथलेटिक्सतर्फ भएको खेलमा शुक्रबार छात्र र छात्राका ४ सय मिटर दौड, ३ किलोमिटर दौड र हाइजम्प भएको थियो । ४ सय मिटरको दौडमा छात्रतर्फ बालज्योति माविका सीताराम काफ्ले प्रथम र ज्योति माविका सञ्जय भोम्जन द्वितीय भएका छन् भने छात्रातर्फ प्रथम र द्वितीय दुबैमा बंशगोपाल माविका छात्राहरुले सफलता हात पारेका छन् । दौडको प्रथम स्थानमा प्रनिता पुडासैनी रह“दा विनिशा भट्टराईले द्वितीय स्थानमा ठाउँँ बनाइन् ।

यसैगरी ३ हजार मिटरको छात्रातर्फको दौडमा पुन बंशगोपाल माविकै प्रनिता पुडासैनीले प्रथम स्थान बनाइन् । दोस्रोमा भने हटिया एकेडेमीकी अंकृषा बस्ताकोटीले स्थान पक्का गरिन् । यस्तै छात्रतर्फ सिद्धार्थ माविले प्रथम र द्वितीय उपाधि जितेको छ । राजकुमार गोले प्रथम हुँँदा धनञ्जय राय यादव द्वितीय भए ।
एथलेटिक्सकै हाइजम्पमा बालबोध माविका विकेश चुनाराले छात्रतर्फ प्रथम स्थान बनाए भने जनप्रिय माविका सुजन माझी दोस्रो भए । हाइजम्प छात्रातर्फ भृकुटी माविकी छात्रा सुजिना मोक्तान प्रथम भइन् भने जनज्योति माविकी प्रतिमा गोपाली दोस्रो भइन् ।

छनोटअन्तर्गत् छात्र र छात्रा दुबैतर्फ ७÷७ वटा विद्यालयको टिमको सहभागिता रहेको कबड्डी खेलमा छात्रतर्फ चन्द्रोदय मावि प्रथम भएको छ । हेटौंडा–४ स्थित कभर्डहलमा भएको खेलमा बालजागृति मावि दोस्रो र जनप्रिय मावि तेस्रो हुन सफल भएको छ । छात्रातर्फ भने बंशगोपाल मावि प्रथम हुँँदा भृकुटी मावि दोस्रो र ज्योति मावि तेस्रो भएको छ ।

यस्तै पुरुष भलिबलको फाइनल खेलमा जनप्रिय मावि हटियाले सिद्धार्थ माविलाई ३–१ को सेटमा पराजित गर्दै विजयी भएको छ । पहिलो सेट १४–२५ अंकले हार्न पुगेको जनप्रियले उत्कृष्ट पुनरागमन गर्दै बाँँकी सेटमा लगातार २५–१३, २५–२२ र २५–२० अंकका साथ जित हात पारेको हो । ८ विद्यालयको सहभागिता रहेको पुरुष भलिबलमा सिद्धार्थ माविले दोस्रो स्थानमा चित्त बुझाएको छ ।

नगर छनोट प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय भएका खेलाडी तथा टिमलाई समेत प्रमाणपत्र प्रदान गरिने प्रतियोगिता संयोजक सिद्धार्थ माविका प्रधानाध्यापक मोहनप्रसाद शर्माले जानकारी दिनुभयो । कोरोनाको महामारी र विद्यालय तहमा सञ्चालन भइरहेको परीक्षाको कारण यसवर्ष विगतको भन्दा निकै कम विद्यालयले सहभागिता जनाएको पनि उहाँँले बताउनुभयो । हेटौंडा नगर छनोटबाट समूहगत खेलमा प्रथम हुने टिम र एकल विधाको खेलमा प्रथम र द्वितीय हुने खेलाडीहरुले राष्ट्रपति रनिङशिल्डको जिल्लास्तरीय प्रतियोगितामा सहभागिता जनाउनेछन् ।

जिल्लास्तरीय प्रतियोगितामा मकवानपुर जिल्लाका १० पालिकामध्ये ६ गाउँँपालिका र २ नगरबाट छनोट भएका खेलाडीहरु सहभागी हुने खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष सानुकुमार लामाले जानकारी दिनुभयो । राक्सिराङ गाउँँपालिका र कैलाश गाउँँपालिकामा भने राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता नभएको पनि उहाँँले बताउनुभयो । जिल्लास्तरीय प्रतियोगिता शनिबार र आइतबार हेटौंडामा आयोजना हुँँदैछ ।