हेटौंडाः हेटौंडा बजारको सडकमा बास बस्न नदिएपछि भारतीय २० जनाको परिवार हेटौंडा ११, थानाभर्याङको तौलपुल नजिकै बस्दै आएका छन् । दिल्ली घर भएका राजु तेलवाला नामले चिनिने राजु त्रिपालमूनि बस्नुपरेको बताउँछन् । उनीसँगै ३ वटा त्रिपालमूनि चार परिवार बस्दै आएका छन् । ३ दाजुभाइ र भिनाजु सँगै बस्दै आएका हुन् । ३ दाजुभाइ र भिनाजुको गरी १४ जना छोराछोरी पनि सँगै बस्छन् ।
पढ्न, लेख्न विद्यालय जानुपर्ने समयमा त्रिपालमूनि बसेर ती बालबालिकाहरु दिनभर समय काट्छन् । ‘जिउ दुखेको, टाउको दुखेको, पिनास भएको तथा दुखाई कम गर्ने जडीबुटीको तेल बेच्न आफूहरुसँगै केही जाने गरेका छन्’, राजुले भने– ‘विद्यालय त आफू पनि पढिन“ । बालबच्चा पढाउन थाल्यौं भने के खाने हामीले ? खानलाई पुग्दैन, यही त धौ धौ छ ।’
दिल्लीबाटै ल्याएको जडीबुटीको तेललाई अस्पतालबाट फालिएको औषधिको बोतल सफा गरेर राखेर बिक्री गर्दै उनीहरुले आफ्नो जीविका चलाइरहेका छन् । उनीहरु सबैको मुख्य पेशा नै तेल बेच्ने हो । त्यही भएर आफूलाई तेल बेच्ने भनेर धेरेले चिन्ने गरेको राजु भन्छन् । कहिले मनहरी, कहिले हेटौंडा बजार तथा अरु केही स्थानहरुमा आफूहरु तेल बेच्न जाने गरेको उनले सुनाए ।
उनी आफू थोरै पढेलेखेको भएपनि बजार अनुभव राम्रै रहेको बताउँछन् । ग्राहकहरुलाई आफ्नो तेलप्रति निकै आकर्षण गर्न जानेको उनको अनुभव छ । उनले बेच्ने तेलमा कत्तिको शुद्धता छ ? वास्तविक जडीबुटीको तेल हो या होइन ? यसमा कुनै सत्यता जाँच भएको छैन । अधिकांश ग्राहकहरु निको भइहाल्छ कि भनेर आफ्नो तेल प्रयोग गर्ने गरेको उनले बताए ।
उनीहरुको परिवार नै यो व्यवसायमा आबद्ध छ । ‘जहाँ मानिसहरुको चहलपहल हुन्छ, त्यहाँ सानो ठाउँमै राखेर तेल बेच्न सुरु गरिहाल्नुपर्छ’, राजुले भने– ‘विगत २ वर्षदेखि हेटौंडा बजार र मनहरी क्षेत्रमा राम्रो व्यापार भएको कारण मकवानपुर जिल्ला छाड्नु परेको छैन ।’ उनीहरु एकै स्थानमा लामो समय बस्न सक्दैनन् । यसअघि उनीहरु दमक, विर्तामोड, धादिङलगायतका विभिन्न जिल्लाहरु घुमेर आइसकेका छन् । पहिले उनीहरु कुनै एक जिल्ला जान्छन् । त्यहाँ एक महिनासम्म बजार डुल्छन् । तेल बेच्ने काम गर्छन् । तेल बिक्री भएन भने उनीहरु आफ्नो बाँसस्थान सार्छन् ।
उनीहरु पहिले हेटौंडा बजार आसपास बस्ने गरेका थिए । नगर प्रहरीले हेटौंडामा बस्न नदिएपछि उनीहरु थानाभर्याङमा त्रिपाल टांगेर बस्नुपरेको उनको भनाई छ । प्रहरीले पनि धेरै किचकिच गर्ने गरेको उनले बताए ।
यस्तै, उनीहरुको त्रिपाल नजिकै अर्को त्रिपालमा बस्छिन्, सीता राना मगर । उनी हेर्दा भर्खरकी छिन् । ३० वर्ष नकटेकी मगरको ६ वटा बालबच्चा छ । एक छोरासहित ५ वटा छोरीहरु छन् । ३ वटा आफूसँग र ३ वटा आफ्नो आफन्तसँग बस्ने गरेको उनले बताइन् । उनको घर हेटौंडाको रातोमाटेमा छ ।
सासू बितेपछि ससुराले बिहे गरेर भारत हिँडेकाले आफूहरुको बिचल्ली भएको उनले बताइन् । ‘श्रीमानको कुल्ली काम गर्दा खुट्टामा चोट लाग्यो । देख्दा खाइलाग्दो हुनुहुन्छ, तर काम गर्न सक्नुहुन्न । आफ्नो सानो बच्चा छ, कुल्ली काम गर्न कसैले बोलाउँदैन । सँगै लिएर जाँदा काम गर्दा डिस्टर्ब हुन्छ’, उनले दुःखेसो राख्दै भनिन् । ‘काम गर्ने बेला पैसा बचाउन सकिएन । बालबच्चालाई खुवाउँदै ठिक्क हुन्छ । घरभाडा तिर्न नसकेपछि त्रिपालमा आएर बस्न बाध्य भयौं । राम्रोसँग दुई छाक खान त माग्नुपरेको छ । बालबच्चा कसरी पढाउने ?’ उनले प्रश्न गरिन् ।
सोही स्थानमा नजिकै अर्का व्यक्ति बस्छन्, विगु महत । उनी वीरगञ्ज निवासी हुन् । घरमा परिवार रहेको उनी बताउँछन् । ‘उमेर हुँदा वीरगञ्जमा रिक्सा चलाउँथे । नसकेपछि मागेर जीवन चल्छ । मागेर आपूm र आफ्नो परिवार बचाएको छु’, उनले भने– ‘श्रीमती प्रत्येक हप्ता पैसा लिन आउँछिन् । एक हप्तासम्म मागेर जम्मा गरेर राख्छु, श्रीमती आएपछि पठाउँछु ।’ आफूले दिनभर मागेर जम्मा गरेर राखेको पैसा बिहीबारसँगै बस्ने महिलाले चोरेको महतले बताए । प्रहरीलाई भनेपछि उनीहरु आएर फिर्ता गरिदिएको उनले जनाए । घरमा ग्याँस विस्फोट हुँदा हातहरु जलेर शारीरिक रुपमा अस्वस्थ रहेको उनले बताए ।
शुक्रबार हेटौंडा उपमहानगरपालिकाको नगर प्रहरीले मानवसेवा आश्रममा गएर बस्न आग्रह गर्दा उनले मानेनन् । उनले आश्रममा आफू बस्दा आफूलाई खान, बस्न सुविधा भए पनि परिवारको बिचल्ली हुने बताए । ‘मैले आश्रम बाहिर बसेर परिवार पाल्नुपर्छ । यसैले म आश्रममा बस्न जान सक्दिन’, उनले जवाफ दिए ।