हेटौंडाः भूसिया कुकुरको टोकाईबाट वन्यजन्तु चितलको मृत्यु भएको छ । बिहीबार दिउँसो हेटौंडा–१० स्थित वन विज्ञान अध्ययन संस्थानको जंगलमा चित्तलको पाठाको मृत्यु भएको हो ।
वन विज्ञान अध्ययन संस्थानका विद्यार्थी सुजन खतिवडाका अनुसार दिउँसो एक बजेर ३० मिनेटको समयमा भूसिया कुकुरले चित्तललाई आक्रमण गरी घाइते बनाएको थियो । चित्तलाई आक्रमण गर्ने कुकुरलाई विद्यार्थीहरुले धपाएर घाइते चित्तलको उद्दार गरेका थिए । तर उद्दार गरिएकोे एक घण्टापछि चित्तलको मृत्यु भयो । यस्तै बिहीबारै वन विज्ञान संस्थानकोे पूर्वितर्फ डम्पिङ साइड नजिकै अर्को चित्तल मृत अवस्थामा फेला परेको छ ।
लकडाउनपछि अहिलेसम्म १५ वटा चित्तल भूसिया कुकुरको टोकाइबाट मृत्यु भएको डिभिजन वन कार्यालय मकवानपुरका सहायक वन अधिकृत अच्युत लामिछानेले जानकारी दिनुभयो ।