स्वास्थ्यचौकीलाई एम्बुलेन्स हस्तान्तरण गरिँदै ।

हेटौंडाः मकवानपुरको मकवानुरगढी गाउँपालिका–७, सकौरास्थित सुकौरा स्वास्थ्यचौकीलाई सोमबार एम्बुलेन्स हस्तान्तरण गरिएको छ । मकवानपुरगढी गाउँपालिका ७ का वडा अध्यक्ष एवम् स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष सूर्यबहादुर रुम्बाको सभाध्यक्षता तथा नेपाली कांग्रेस बागमती प्रदेशका संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यमा भएको कार्यक्रममा स्वास्थ्यचौकीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।

नेता बानियाँको पहलमा शिवम् सिमेन्ट उद्योग, बानियाँ निर्माण सेवा, ऊँ साई कन्स्ट्रक्सन, मोतीदान कन्स्ट्रक्सन र मोर्डन ईन्फ्रास्ट्रक्चरको आर्थिक सहयोगमा एम्बेलुन्स खरिद गरिएको हो । नेता बानियाँले पनि एम्बुलेन्स खरिदमा आर्थिक सहयोग गर्नुभएको छ । एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा मकवानपुरगढी ८ का वडाअध्यक्ष कुमार सिं घिसिङ, शिवम् सिमेन्ट उद्योगका प्रमूख कार्यकारी देवेन्द्र सिंहा, स्वास्थ्यचौकीका उपाध्यक्ष प्रतिमान रुम्बा, सुकौरा टोल विकासका अध्यक्ष मुकुन्दप्रसाद न्यौपाने, जनता माविका प्रधानाध्यापक होमबहादुर नेपालीलगायतले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा कांग्रेस प्रतिनिधिसभा २ ‘क’ का सभापति यतिराज सापकोटा, कांग्रेस हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, आकाश गोलेलगायत सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । एम्बुलेन्स संचालनपछि मकवानपुरको विकट पूर्वी क्षेत्र सुकौरा, बुढिचौर, ठिंगनलगायतका क्षेत्रका बासिन्दालाई सहज हुने बताइएको छ ।