बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले कार्यक्रममा उद्घटन गर्नुहुँदै ।

हेटौंडाः बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले देशमा तीन तहको सरकार भएका कारण विकासको गतिले तिब्रता पाएको बताउनुभयो । आइतबार बागमती प्रदेशको मुख्य न्यायाधीवक्ता कार्यालयको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सभामुख श्रेष्ठले संघीय सरकारले गर्न नसकेको काम प्रदेश सरकारले गरेको र प्रदेश सरकारले गर्न नसकेको काम स्थानीय सरकारले गरेकाले विकासको गति तिव्र भएको बताउनुभयो ।

प्रदेशका सबै निकायहरुले तीन वर्षे कार्यकालको समीक्षा गरेर अघि बढ्नुपर्नेमा सभामुख श्रेष्ठले जोड दिनुभयो । ऐन, नियम र कानुन राम्रो बनाउन सके सुशासन, सुखी नेपाली र समृद्व नेपाल निर्माण हुने भन्दै सभामुख श्रेष्ठले मुख्य न्यायाधीवक्ता कार्यालयको ध्यानाकर्षण गराउनुभयो । बागमती प्रदेशसभाले तीन वर्षको अवधिमा ५९ वटा कानुन निर्माण गरेको सभामुख श्रेष्ठले बताउनुभयो । प्रदेशसभाको विधेयक समितिमा विचाराधीन एउटा र नयाँ दर्ता भएको एउटा गरी दुई विधेयक प्रदेशसभामा पेश भएको र अझै ३२ वटा कानुन निर्माण हुन बाँकी रहेको उहाँले बताउनुभयो ।

मुख्य न्यायाधीवक्ता कार्यालय स्थापनाको तीन वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रमको सभाध्यक्षता गर्नुभएका मुख्य न्यायाधीवक्ता ओमप्रसाद थपलियाले मुद्दाको निर्णय गर्नुभन्दा अगाडि कानुनको गहन अध्ययन र कानुनको परिधिभित्र रहेर निर्णय लिन आग्रह गर्नुभयो । प्रदेशसभाले बनाएका कतिपय कानुन कार्यान्वयनमा आउन नसकेको भन्दै मुख्य न्यायाधीवक्ता थपलियाले प्रदेशसभाले बनाएको कानुनहरुको कार्यान्वयनको अवस्था र समस्याको अध्ययन आवश्यक रहेको बताउनुभयो ।

मुख्य न्यायाधीवक्ता कार्यालयका शाखा अधिकृत कौशल ढुंगानाले मुख्य न्यायाधीवक्ताको कार्यालयमा वर्षेनि मुद्दाको संख्या बढ्दै गएको बताउनुभयो । पहिलो वर्ष कार्यालयमा २ वटामात्र मुद्दा परेकोमा दोस्रो, तेस्रो र चालु आर्थिक वर्षमा क्रमशः १३, ५५ र ८६ वटा मुद्दा मुख्य न्यायाधीवक्ता कार्यालयमा आएको अधिकृत ढुंगानाले बताउनुभयो । कार्यालयमा दर्ता हुन आएका मुद्दामध्ये ९७ वटा सर्वोच्च अदालत र ८२ वटा उच्च अदालत पाटन, हेटौंडा इजलासमा दर्ता भएको उहाँले बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशका पहिलो मुख्य न्यायाधीवक्ता सूर्यचन्द्र न्यौपानेलाई सम्मान गरिएको थियो भने कार्यालयका कर्मचारीहरुलाई कदरपत्र प्रदान गरिएको थियो । उच्च अदालत पाटन, हेटौंडा इजलासका वरिष्ठ न्यायाधीश शेषराज शिवाकोटीको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठ, प्रदेश नीति तथा योजना आयोगका कार्यबाहक उपाध्यक्ष श्यामकुमार बस्नेत, जिल्ला समन्वय ससमिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपति विश्वराज जोशीलगायतको आतिथ्यता थियो ।