गोष्ठीमा जिल्ला समन्वय समिति मकवानपुर प्रमुख रघुनाथ खुलालले मन्तव्य राख्नुहुँदै ।

हेटौंडाः राष्ट्रिय कृषि गणना २०७८ को सन्दर्भमा जिल्लास्तरीय सचेतना गोष्ठी सम्पन्न भएको छ । गोष्ठीमा जिल्ला समन्वय समिति मकवानपुर प्रमुख रघुनाथ खुलालले कृषि गणना गर्दा सही तथ्यांक भएमा देशको आर्थिक तथ्यांक वास्तविक आउने बताउनुभयो । कृषि गणनाका लागि तथा कृषि कार्यक्रम कार्यान्वयन गर्दा सबै पालिकाहरुले कृषकसँग छलफल तथा अन्तरक्रिया गरेमा प्रभावकारी हुने बताउनुभयो ।

कार्यक्रमलाई सहजीकरण गर्नुहुँदै तथ्यांक कार्यालय मकवानपुरका अधिकृत राजेश दासले २०१८ सालमा पहिलो पटक कृषि गणना भएको र हरेक १०–१० वर्षमा कृषि गणना हुने गरेको बताउनुभयो । तीनै तहका सरकारको कृषिसम्बन्धी योजना तर्जुमा एवम् नीति निर्र्माणमा कृषिसम्बन्धी तथ्यांक आवश्यक पर्ने अधिकृत दासले बताउनुभयो ।

कृषि गणनाका लागि कृषक परिवारको लागत वर्गीकरण तथा छनोट अभिलेख, कृषि कामदारसम्बन्धी विवरण, जग्गा र सिंचाईसम्बन्धी विवरण, अस्थायी तथा स्थायी बालीहरु, गणनाको दिनमा रहेका पाल्तु जनावर र पन्छीको विवरण, गैरआवासीय भवन, कृषि औजार तथा कृषिका साधनहरु, अन्य खेती तथा उत्पादनसम्बन्धी विवरण, कृषि ऋण, बीमा र अनुदानलगायत तथ्यांक संकलन गरिनेछ । कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाललगायत सरोकारवाला निकायका प्रतिनिधिको उपस्थिति थियो ।