महिला पत्रकारहरुसँगको अन्तरक्रियामा मन्तव्य राख्नुहुँदै मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएका राजकुमाार न्यौपाने।

हेटौंडाः मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएका राजकुमाार न्यौपानेले मकवानपुरका महिला पत्रकारहरुसँग अन्तरक्रिया गर्नुभएको छ । संघको आसन्न ५४ औं वार्षिक साधारणसभा तथा अधिवेशनलाई मध्यनजर गर्दै अध्यक्षका उम्मेद्वार न्यौपानेले महिला पत्रकारहरुसँग अन्तरक्रिया गर्नुभएको हो ।

अन्तरक्रियामा अध्यक्षका प्रत्याशी न्यौपानेले ६० जिल्लामा महिला उद्यमी संगठन रहेको बताउनुभयो । उद्योग वाणिज्य संघले देशभर महिलालाई आफ्नो उत्पादनमूलक सीप सिर्जनामा सहयोग गरिरहेको दावी गर्नुभयो । व्यावसायिक वातावरण निर्माण गर्नसक्ने ऊर्जावन र क्षमतावान व्यक्ति संघको नेतृत्वमा आउनुपर्ने न्यौपानेले बताउनुभयो ।

निजी क्षेत्रको अवाजलाई बुलन्द पार्न तथा उद्योग वाणिज्य संघमा आइपर्ने सङ्कट न्यूनीकरणका लागि व्यवसायीहरुको चाहनामै आफूले अध्यक्ष पदमा उम्मेदवारी दिएको न्यौपानेले दावी गर्नुभयो । व्यावसायिक हितका लागि आफूले सधैं आवाज उठाइरहेको भन्दै न्यौपानेले आफ्नो स्वार्थका लागि उम्मेदवारी नदिएको बताउनुभयो । संघको नेतृत्व गर्ने मौका पाएमा महिला पत्रकारको हितका निम्ति कोष खडा गरिने उहाँले बताउनुभयो ।

कार्यक्रममा उद्योगतर्फका उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएका प्रतिमा श्रेष्ठले महिला आरक्षण तर्फबाट सदस्यमा प्रवेश गरेको बताउनुहुँदै उपाध्यक्ष पदमा आउन कोटा कुर्नुपर्ने अवस्था नरहेको बताउनुभयो । अन्य संघसंस्थामा आफू आबद्व रहेको हुँदा नेतृत्व गर्न सक्ने क्षमताको अनुभव रहेकाले व्यावसायिक हकहितका लागि युवा र महिलाको नेतृत्व गर्न उम्मेदवारी दिएको जिकिर गर्नुभयो ।

कार्यक्रममा वस्तुगततर्फका उपाध्यक्षका उम्मेदवार राजु अधिकारी, सदस्यका उम्मेदवारहरु मेनुका श्रेष्ठ, दीपक शिवकोटी, विष्णु दाहाल, नेत्रकुमारी भट्ट, ज्ञानेन्द्र बर्तौलालगायतको उपस्थिति रहेको थियो ।