राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा ।

हेटौंडाः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले २०६२/०६३ को परिवर्तनपछि मुलुकमा विदेशी दबाब, प्रभाव र हस्तक्षेप बढेको बताउनुभएको छ । राप्रपा हेटौंडा नगर समितिका नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुको सपथग्रहण कार्यक्रममा अध्यक्ष थापाले विदेशीको इशारामा लादिएको एजेण्डाले मुलुकको स्वाधिनता कमजोर भएको बताउनुभयो ।

‘गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता विदेशीले बोकाइदिएको भारी हो । विदेशीको स्वार्थपूर्ति गर्न राजनीतिक दल र नेताहरू प्रयोग हुनु दुर्भाग्यपूर्ण भयो’ थापाले भन्नुभयो । नेपालमा सबै शक्ति र विचार अटाउन सक्ने मौलिक व्यवस्थाको व्यवस्था आवश्यकता रहेको उहाँले बताउनुभयो ।

भ्रष्टाचार, बेरोजगारी, धर्मपरिवर्तन र कुशासनको चक्र तोड्नका लागि राप्रपा बलियो हुनुपर्ने भन्दै थापाले कांग्रेस र कम्युनिस्टको मार्गचित्र असफल भएको बताउनुभयो । मनपरीतन्त्र र ब्रह्मलुटको हिसाब जनताले राखिराखेको भन्दै थापाले आगामी निर्वाचनबाट राप्रपा बलियो शक्तिको रुपमा स्थापित हुने दाबी गर्नुभयो । राप्रपाको ध्यान महाधिवेशन केन्द्रित रहेको भन्दै थापाले संगठन सुदृढीकरण अभियानलाई उच्च प्राथमिकतापूर्वक अघि बढाउन कार्यकर्ताहरुलाई आग्रह गनुभएको छ ।