हेटौंडाः मनहरी–४ स्थित पशुपतिनाथ पशुपतिनाथ माविमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) बागमती प्रदेशले हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगितामा विद्यालयका कक्षा ६ देखि १० सम्म विद्यार्थीहरुका ६ वटा समूहको सहभागिता थियो ।

कोरोना भाइरस संक्रमणको जोखिम कम हुँदै गएका कारण इन्सेकले कार्यक्रम आयोजना गरेको थियो । विद्यालयको पशुपतिनाथ बाल सचेतना समूह सदस्य सपना केसीको सभाध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव गौतमको प्रमुख आतिथ्यता रहेको थियो । बालबालिकाको क्षमता अभिवृद्धिका लागि अतिरिक्त क्रियाकलाप आवश्यक रहेको अध्यक्ष गौतमले बताउनुभयो ।

प्रतियोगिताका विजेता बालबालिकालाई अध्यक्ष गौतम, ईन्सेककी सलिना गौतमलगायतले पुरस्कार वितरण गर्नुभएको थियो । विद्यालयका शिक्षक सुशील गौतम, मनोज चौलागाईं, ईश्वर रिजाल, बिष्णु चौधरीलगायतले कार्यक्रममा सहजीकरण गर्नुभएको थियो ।

कोरोना महामारीका कारण चालु शैक्षिक सत्रमा विद्यालयहरुमा खासै अतिरिक्त क्रियाकलाप सञ्चालन हुन सकिरहेका छैनन् । कोरोना संक्रमण जोखिमबाट बच्न भौतिक दुरी कायम राख्नुपर्ने अवस्था र पठनपाठन ढिला सुरु भएकाले निर्धारित पाठ्यक्रम पठनपाठनमा बाधा पुग्ने भएकाले विद्यालयहरुले अतिरिक्त क्रियाकलापलाई बेवास्ता गर्दै आएका हुन् ।