बकैयाः मकवानपुरको बकैया गाउँपालिकाले कर्मचारी र जनप्रतिनिधिलाई नेतृत्व विकास तथा भाषणकला सम्बन्धी तालिम आयोजना गरेको छ । बुधबारदेखि सुरु भएको तीनदिने तालिम शुक्रबार सम्पन्न भएको छ । तालिममा युवा अभियन्ता विनिता कार्की, देव योञ्जन तथा समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठले सहजीकरण गर्नुभएको थियो ।
जनप्रतिनिधि तथा कर्मचारीको क्षमता विकास गर्ने उद्देश्यले आयोजित तालिममा सहभागीले तालिम उपयोगी र प्रभावकारी भएको बताएका थिए । तालिम गाउँपालिकाकै सभाहलमा भएको हो । तालिममा सहभागीलाई सम्बोधन गर्नुहुँदै गाउँपालिकाका अध्यक्ष दामोदर खनालले जनप्रतिनिधि र कर्मचारीको क्षमता विकास गरेर सेवा प्रवाहको स्तर अभिवृद्धि गर्न पालिकाले कार्यक्रमको आयोजना गरेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि यस्ता कार्यक्रम आयोजना गरिने बताउनुभयो ।
तालिम समापनको अवसरमा गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखेले तालिमले जनप्रतिनिधि र कर्मचारीको क्ष्ँमता अभिवृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पुडासैनीले तालिममा सिकेका कुरा उपयोग गरेर सेवा प्रवाहमा सुधार गर्न सहभागीलाई आग्रह गर्नुभयो । तालिममा गाउँकार्यपालिका सदस्य, वडा सदस्य, पालिकाका कर्मचारी, वडा सचिवसँगै पालिकाभित्र रहेका सहकारीका पदाधिकारीको पनि सहभागिता रहेको बकैया गाउँपालिकाको सामाजिक विकास शाखाकी प्रमुख कविता भट्टले जानकारी दिनुभएको छ ।