हेटौंडाः मकवानपुर उद्योग वाणिज्य संघको आसन्न निर्वाचनका लागि निवर्तमान अध्यक्ष राजकुमार न्यौपानेको नेतृत्वमा ४ उपाध्यक्षको उम्मेदवारी घोषणा गरिएको छ । शुक्रबार होटल एभोकाडोमा एक हजारभन्दा बढी व्यवसायीको उपस्थितिमा राजकुमार न्यौपानेको नेतृत्वमा उपाध्यक्ष पदमा वाणिज्यतर्फ रामप्रसाद न्यौपाने, एसोसियटतर्फ उज्ज्वल चौलागाई, वस्तुगततर्फ राजु अधिकारी र उद्योगतर्फ प्रतिमा श्रेष्ठले उम्मेदवारी घोषणा गरेका हुन् ।
उम्मेदवारी घोषणासँगै व्यवसायीको साथको शक्ति प्रदर्शन गर्ने शैलीमा उम्मेदवारी घोषणा सभाको आयोजना गरिएको थियो । उद्योगतर्फ उपाध्यक्षका आकांक्षी प्रतिमा श्रेष्ठले नै सञ्चालन गरेको कार्यक्रममा उम्मेदवारी घोषणा गर्ने सबैले आफ्नो उम्मेदवारीको औचित्यका बारेमा बोलेका थिए । अध्यक्षका प्रत्यासी राजकुमार न्यौपानेले आफूलाई नेपाल उद्योग वाणिज्य महासंघमा प्रतिनिधिको रुपमा सिफारिस नगरेर वर्तमान समितिले गरेको निषेधको राजनीतिविरुद्ध आफ्नो उम्मेदवारी रहेको दावी गर्नुभयो । उहा“ले व्यवसायीको हितमा दिनरात खट्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।
यसअघि अध्यक्षका आकांक्षी रहनुभएका रामप्रसाद न्यौपानेले वाणिज्यतर्फ उपाध्यक्षको उम्मेदवारी रहने घोषणा गर्नुहुँदै आफ्नो व्यवसाय बन्द गरेर भए पनि व्यवसायीको हितमा काम गर्ने बताउनुभयो । एसोसिएटतर्फका उपाध्यक्ष उम्मेदवार उज्ज्वल चौलागाईले व्यक्तिमार्फत चलिरहेको उद्योग वाणिज्य संघलाई साझा संस्थाको रुपमा विकसित गर्न आफ्नो समूहको जीत आवश्यक रहेको दावी गर्नुभयो । उद्योगतर्फकी उपाध्यक्ष पदकी आकांक्षी प्रतिमा श्रेष्ठले महिला उम्मेदवारले आरक्षणको कोटामा मात्रै भर पर्न नहुने अठोटसहित खुलातर्फ उद्योग उपाध्यक्षमा उम्मेदवारी दिएको बताउनुभयो । अध्यक्ष र उपाध्यक्षका आकांक्षीको सामूहिक घोषणा गरिएको र अन्य पदका उम्मेदवारको तत्काल घोषणा नगरिने श्रेष्ठको भनाइ छ ।