हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले नगर क्षेत्रका सडकमा रहेका अव्यवस्थित तारहरुलाई व्यवस्थित बनाउने भएको छ । विद्युत् तथा टेलिफोनका पोलहरुमा इन्टरनेट तथा केबल टिभी सेवाप्रदायकहरुले जथाभावी टाँगेको तारलाई व्यवस्थापन गर्ने कार्य उपमहानगरपालिकाले सुरु गरेको हो ।

हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको विशेष विशेष चासो तथा निर्देशनमा मंगलबारबाट तार व्यवस्थापन कार्य सुरु गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री निवास तथा डिभिजन वन कार्यालयअगाडिबाट सुरु भएको तार व्यवस्थापन कार्यलाई अभियानकै रुपमा क्रमशः नगरका सबै क्षेत्रमा पुर्‍याइने हेटौंडा उपमहानगरपालिकाका वातावरण शाखा प्रमुख सुपेन्द्र कार्कीले बताउनुभयो ।

उपमहानगरपालिका क्षेत्रमा धेरैवटा इन्टरनेट सेवाप्रदायकहरुले आ–आफ्नो सेवा विस्तारका क्रममा एउटै पोलमा दर्जनौं तारहरु टाँग्ने र बढी भएका तारलाई पोलमा गुजुल्ट्याएर छाड्ने गरेका कारण नगरको सौन्दर्यमा नकारात्मक असर परिरहेको छ ।

साथै धेरैवटा तारहरु एउटै पोलमा जथाभावी टाँग्दा आगलागी तथा अन्य दुर्घटनाको जोखिम बढ्दै गएपछि उपमहानरपालिकाले तार व्यवस्थापनमा चासो देखाएको हो ।

नेपाल विद्युत् प्राधिकरण तथा नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)का पोलहरुमा अन्य सेवाप्रदायकले जथाभावी तार टाँग्ने कार्यलाई व्यवस्थित गर्न उपमहानगरपालिकाले आवश्यक समन्वय गर्ने वातावरण शाखा प्रमुख कार्कीले जानकारी दिनुभयो । सबै तारहरुलाई एउटै लठ्ठामा राख्ने र एकीकृत बक्सहरुको प्रयोगलाई जोड दिने कार्कीले बताउनुभयो ।

शहरी क्षेत्रमा भएका विद्युत्, टेलिफोन, इन्टरनेट, केबल टिभीलगायत सेवाप्रदायकका धेरैवटा तारहरु व्यवस्थित गरी सेवाग्राहीलाई प्रभावकारी सेवाप्रवाहका लागि तार व्यवस्थापन आवश्यक भएको कार्कीले बताउनुभयो ।

शहरको स्रुन्दरता कायम राख्न र सम्भावित दुर्घटना न्यूनीकरण गर्न पनि सडकका पोलमा टाँगिएका तार व्यवस्थापन अनिवार्य रहेको उहाँले जानकारी दिनुभयो । सेवाप्रदायक र सेवाग्राहीबीच सम्बन्ध सुमधुर बनाउन र सबै सेवाप्रदायकबीच आपसी समन्वय गर्दै उपमहानगरपालिकाले पोलहरुमा अस्तव्यस्त रहेका तारहरु व्यवस्थापनलाई निरन्तरता दिने कार्कीले बताउनुभयो ।