हेटौंडाः जिल्ला अदालत मकवानपुरले कोभिड–१९ को समयमा न्याय सम्पादन क्षेत्रमा विभिन्न क्षेत्रबाट योगदान पुर्याएको ७ जनालाई सम्मान गरेको छ ।
कोभिड–१९ को समयमा न्याय सम्पादन गर्न सहयोग पुर्याएको तथा हेटौंडा–११, स्थित बालसुधार गृहका बालबालिकाहरुको शिक्षा, योग र स्वास्थ्य लगायतको विषयमा सहयोग गरेकोमा हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिनाकुमारी लामालाई कदरपत्रसहित सम्मान गरेको हो ।
यस्तै न्याय सम्पादनमा नागरिक समाजको तर्फबाट योगदान पुर्याएकोमा नेपाल पत्रकार महासंघ बागमती प्रदेशको अध्यक्ष प्रताप विष्टलाई सम्मान गरेको छ ।
स्वास्थ्य क्षेत्रमा कोभिडको समयमा योगदान पुर्याएको भन्दै हेटौंडा अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. प्रविण श्रेष्ठलाई अदालतले सम्मान गरेको हो ।
यसैगरी हेटैंडा अस्पतालमा रहेको एकद्धार संकट व्यस्थापन केन्द्र, जिल्ला प्रहरी कार्यालय मकवानपुर, कारागार कार्यालय भिमफेदी, बालसुधार गृहलाई कदरपत्रसहित जिल्ला अदालत मकवानपुरले सम्मान गरेको हो ।
कार्यक्रममा सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश शेषराज शिवाकोटी, उच्च अदालत पाटन, हेटौंडा इजलाशका मुख्य न्यायाधीश साबिर हुसेन, न्यायाधीशहरु चन्डीराज ढकाल, मरिना श्रेष्ठ, रजिष्ट्रार रामेश्वर रेग्मी, जिल्ला अदालत मकवानपुरका न्यायाधीशहरु डिल्लीरत्न श्रेष्ठ लगायतको उपस्थिति थियो ।