Home मुख्य समाचार सर्वोच्च अदालतको फैसलाले नेकपा बदर हुँदा, मुख्यमन्त्री पौडेलको सरकार बलियो

सर्वोच्च अदालतको फैसलाले नेकपा बदर हुँदा, मुख्यमन्त्री पौडेलको सरकार बलियो

हेटौंडाः सर्वोच्च अदालतको आदेशले सत्तारुढ दल नेकपा बदर भएसँगै बागमती प्रदेश सरकार नढल्ने अवस्थामा पुगेको छ । यसअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षका ४५ सांसदहरुले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव संसदमा पेश गरेका कारण प्रदेश सरकार संकटमा परेको थियो ।

मुख्यमन्त्री पौडेलविरुद्ध तत्कालीन नेकपाका ४५ जना सांसदहरुले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेर संसदमा पेश गरेपनि केही सांसदहरु मुख्यमन्त्री पौडेलको पक्षमा आइसकेका थिए । ४५ बाट त्यो संख्या घटेर ४० मा झरेको मुख्यमन्त्री पौडेलले बताएका थिए ।

बागमती प्रदेशमा नेकपा एमालेका ५७ प्रदेशसभा सदस्य छन् । बागमती प्रदेशमा नेकपाका ८० जना प्रदेशसभा सदस्य रहेका थिए । जसमा ४५ जनाले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । तर नेकपा बदर भएसँगै बागमती प्रदेशमा मुख्यमन्त्री पौडेलको सरकार बलियो देखिएको हो । मुख्यमन्त्री पौडेलले पहिले पनि प्रदेश सरकार बलियो रहेको भन्दै सरकार नढल्ने बताए ।

बागमती प्रदेशमा नेकपा एमालेका ५७ प्रदेशसभा सदस्यमा समानुपातिकतर्फ १६ सिट र प्रत्यक्षतर्फ ४२ सिटसहितको बहुमत पाएको थियो । बागमतीमा नेकपा माओवादी केन्द्रले १५ प्रत्यक्ष र ८ समानुपातिक गरी २३ सिट पाएको थियो । त्यस्तै नेपाली कांग्रेस ८ प्रत्यक्ष र १४ समानुपातिक गरी २२ सिटसहित तेस्रो दल छ । समानुपातिकबाट विवेकशील साझाको ३ सिट रहेको छ भने १ प्रत्यक्ष र १ समानुपातिक गरी नेमकिपाको २ सिट छ । समानुपातिकबाट राप्रपाको २ र नयाँ शक्तिबाट उम्मेदवार बनेका १ जना स्वतन्त्र सांसद छन् । प्रदेशमा नेकपा एक नहुँदा एमाले बलियो देखिएको हो ।

हाल पूर्वएमालेको पक्षमा ५७ जना देखिए पनि २३ जना प्रचण्ड–माधव पक्षमा रहेका कारण डोरमणि पौडेल नेतृत्वको सरकार अल्पमतमा छ । तर अहिले एमालेको माधव नेपाल पक्षका सांसदलाई माओवादी केन्द्रको सांसदको साथ रहे पनि अर्को सरकार बन्ने अवस्था नरहँदा मुख्यमन्त्री पौडेलको सरकार नै बलियो देखिएको छ ।

Exit mobile version