हेटौंडाः बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले देशको आर्थिक उन्नतिको मुख्य आधार किसान भएकाले सिंगो देशले नै किसानहरुलाई सम्मान गर्नुपर्ने बताउनुभएको छ । कृषिको विकास तथा उत्पादनमा वृद्धि नगरी र कृषिमा आत्मनिर्भर नभई मुलुकलाई अगाडि बढाउन नसकिने मुख्यमन्त्री पौडेलले बताउनुभयो ।
शुक्रबार हेटौंडामा नेपाल व्यावसायिक बाख्रापालक महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री पौडेलले किसानको पशु बिमामा देखिएको समस्यालाई सामाधान गर्ने बताउनुभयो । उहाँले छिट्टै किसानहरु आवद्ध भएका बिमा समितिहरुलाई बोलाएर किसानको लागि काम नगर्ने, किसानको पशुको मूल्यांकन सही नगर्ने बिमा संस्थाहरुको रणनीति बुझेर आवश्यक फैसला गर्ने बताउनुभयो ।
उहाँले किसानहरुलाई कृषि पेशामा अनुदान भन्दा पनि सहुलियत कर्जा लगानी गर्न प्रदेश सरकारले सुरुवात गरेको बताउनुभयो । साना किसान र उद्यमीहरुका लागि प्रदेश सरकारले ३ अर्बको कोष स्थापना गरेर ऋण प्रवाह गर्न थालिएको बताउनुभयो । किसानले उत्पादन गरेको वस्तुहरुको उपभोग गर्न प्रदेश सरकारले १३ जिल्लामा बजार घर निर्माण गरेको भन्दै किसानको उत्पादन सरकारले खरिद गरेर बिक्री गर्ने व्यवस्था गरिने मुख्यमन्त्री पौडेलले बताउनुभयो ।
कार्यक्रममा केन्द्रीय दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष नारायणप्रसाद देवकोटाले किसानहरुलाई निर्वाहमुखीबाट व्यावसायिक बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । गाउँगाउँमा दूरदराजमा किसानले उत्पादन गरेको वस्तुको सरकारले बजारीकरणको ग्यारेन्टी गर्नुपर्ने भन्दै देवकोटाले प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले किसानहरुलाई हातमा नभएर किसानको खातामा रकम हाल्नुपर्ने अवस्था बनाइनुपर्नेमा जोड दिनुभयो । ब्राखापालन क्षेत्रलाई अझ कसरी थप व्यवस्थित गर्न सकिन्छ भन्ने कुरा छलफल गरेर घोषणापत्रमा समावेश गर्न अध्यक्ष देवकोटाले सुझाव दिनुभएको छ ।
नेपाल व्यावसायिक बाख्रापालक महासंघका केन्द्रीय अध्यक्ष श्यामकुमार पोखरेलको सभाध्यक्षतामा भएको कार्यक्रममा देशकै उत्कृष्ट बाख्रापालक किसान धनबहादुर मगर र कर्णबहादुर पाख्रिनलाई सम्मान गरिएको छ । महाअधिवेशन शनिबारसम्म चल्नेछ । महाधिवेशनमा देशभरका बाख्रपालक किसानहरुको उपस्थिति रहेको छ ।