हेटौंडाः प्रदेश यातायात सञ्चालन तथा व्यवस्थापन बोर्डको निर्देशकमा बागमती प्रदेश सरकारले भक्तपुर चाँगुनारायणका जगदीशचन्द्र ढुंगानालाई नियुक्त गरेको छ । यसअघि यातायात पूर्वाधार निर्देशनालय बागमती प्रदेशका निर्देशक सहदेव भण्डारीले निमित्त निर्देशकको रुपमा बोर्डको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो ।
बागमती प्रदेश सरकारले बोर्डको २ जना उपनिर्देशक पनि नियुक्त गरेको छ । प्रदेश यातायात सञ्चालन तथा व्यवस्थापन बोर्डको उपनिर्देशकमा काठमाडौंका रवीन्द्र महर्जन र काभ्रेपलाञ्चोकका श्यामसुन्दर सापकोटालाई नियुक्त गरिएकोे बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता नवीनकुमार सिंहले जानकारी दिनुभयो ।
भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत् रहने बोर्डको निर्देशकको रुपमा ४ वर्षका लागि ढुंगानालाई करारमा नियुक्त गरिएको हो । प्रदेश सरकारले विज्ञापन गर्दा उहा“को एकमात्र उम्मेदवारी परेको थियो ।
यस्तै २ जना बोर्डको उपनिर्देशक पदमा गरिएको विज्ञापनमा ५ जनाको उम्मेदवारी परेको मन्त्रालयका प्रवक्ता सिंहले बताउनुभयो । उपनिर्देशक पदको लागि २ पटकसम्म विज्ञापन गर्दा पनि ५ जनाले मात्र आवेदन दिएको मन्त्रालयले जनाएको छ । उनीहरुलाई प्रदेश सरकारले फागनु ३ गते नियुक्ति दिने भएको छ ।
यातायात सञ्चालन तथा व्यवस्थापन बोर्डको निर्देशक र उपनिर्देशको नियुक्तिसँगै बोर्डले पूर्णता पाएको छ । अब बोर्डले आवश्यक जनशक्तिसहित हेटौंडा–११ थानाभर्याङमा आफ्नै कार्यालयबाट काम अगाडि बढाउने यातायात पूर्वाधार निर्देशनालयका निर्देशक सहदेव भण्डारीले जानकारी दिनुभयो । हाल यातायात पूर्वाधार निर्देशनालय बागमती प्रदेश र यातायात सञ्चालन तथा व्यवथापन बोर्डको कार्यालयको काम एकै स्थानबाट भइरहेको थियो ।
बोर्ड गठन भएर निर्देशक र उपनिर्देशकको नियुक्ति भएसँगै विद्युतीय बसको खरिद प्रक्रिया पनि अगाडि बढ्ने भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले बताउनुभयो । मन्त्री फुयाँँलले २०८० सालसम्म प्रदेशको मुख्य शहरहरुमा प्रदूषणरहित विद्युतीय गाडीहरु सञ्चालन हुने भन्दै आवश्यक स्थानमा चार्जिङ स्टेशन स्थापनका लागि समन्वय भइरहेको जानकारी दिनुभयो ।