तस्बिर google.com ।

हेटौंडाः महिला कर्मचारी माथि दूव्र्यवहार गरेको अभियोगमा पक्राउ परेका हेटौंडास्थित रिद्धीसिद्धी सिमेन्ट उद्योगका महाप्रबन्धक लोकेन्द्र बहादुर मल्ल ३ हजार धरौटीमा रिहा भएका छन् । उद्योगमा कार्यरत महिला कर्मचारीमाथि दूव्र्यवहार गरेको अभियोगमा मल्ललाई मकवानपुर प्रहरीले गत सोमबार पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरका अनुसार मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको आदेशमा मल्ललाई धरौटीमा रिहा गरिएको हो । महिला कर्मचारीले आफूमाथि दुव्र्यवहार भएको भनी उजुरी दिएपछि सोधपुछका लागि बोलाइएका मल्ललाई प्रहरीले नियन्त्रणमा लिएको थियो । सोमबार नियन्त्रणमा लिइएका मल्ललाई प्रमुख जिल्ला अधिकारीले ७ दिन हिरासतमा राखेर आवश्यक अनुसन्धान गर्न प्रहरीलाई म्याद लिएको थियो । ५८ वर्षीय मल्ल नेपाल प्रहरीकै सेवानिवृत्त वरिष्ठ प्रहरी उपरीक्षक हुन् ।