हेटौंडाः हेटौंडा–२ स्थित सिद्धार्थ माविबाट २०६९ सालमा एसएलसी उत्तीर्ण विद्यार्थीले विद्यालयलाई भित्ते घडी, डस्टबिन र प्राथमिक उपचार सामग्री सहयोग गरेका छन् । सरस्वती पुजाको अवसरमा मंगलबार बिहान विद्यालयमा पुगेर सन्तोष धिताल नेतृत्वको विद्यार्थीको समूहले ३० थान भित्ते घडी, ३४ थान डस्टबिन र २ वटा प्राथमिक उपचार सामग्रीसहितको बाकस सहयोग गरेका हुन् ।
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलमार्फत विद्यालयलाई ती सामग्री हस्तान्तरण गरिएको हो । पूर्वविद्यार्थीले विद्यालयलाई उपयोगी सामग्री सहयोग गरेको विद्यालयका प्रधानाध्यापक मोहनप्रसाद शर्माले जानकारी दिनुभएको छ । १२ कक्षासम्म पठनपाठन हुने सिद्धार्थ माविमा एक हजार सात सय ३१ जना विद्यार्थी अध्ययनरत छन् । सिद्धार्थ माविले कक्षा ११ र १२ मा विज्ञान, वाणिज्य, शिक्षाशास्त्र र कानुन संकायको पठनपाठन सञ्चालन गर्नुका साथै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को स्वीकृतिमा कक्षा ११ र १२ मा वन विज्ञान विषय समेत पठनपाठन गरिरहेको छ ।