साहित्यकार शेषराज शिवाकोटी ।

हेटौंडाः सर्जक सञ्जाल मकवानपुरले साहित्यकार शेषराज शिवाकोटीलाई स्वागत गरेको छ । उच्च अदालत पाटन, हेटौंडा इजलासमा मुख्य न्यायाधीश भई आउनुभएका शिवाकोटीलाई शुक्रबार एक कार्यक्रमका बीच सर्जक सञ्जालले स्वागत गरेको हो । शिवकोटी साहित्य सिर्जना, साहित्यिक पत्रकारिता, साहित्यिक अन्वेषणमा समेत सक्रिय हुनुहुन्छ । उहाँले “ज्ञानगुनका कुरा” नामक चर्चित साहित्यिक पत्रिकाको १९६ वटा अंक प्रकाशन गर्नुका साथै ३५० को हाराहारीमा खोज/अनुसन्धानमूलक साहित्यिक कृति प्रकाशन गरिसक्नुभएको छ ।

सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा मकवानपुरका विभिन्न साहित्यिक संघ संस्थाका प्रतिनिधिहरू तथा साहित्यिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा वासुदेव रिजाल स्मृति प्रतिष्ठानका अध्यक्ष एवम् व्यङ्ग्यकार आरसी रिजाल, नियात्राकार रमेशमोहन अधिकारी, भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठानका अध्यक्ष हयग्रीव आचार्य, साहित्यसेवी मुक्तिगोविन्द वैद्य, झरना साहित्यिक परिवार मकवानपुरका अध्यक्ष दीपक गौतम, मातृभूमि साहित्य समाजका अध्यक्ष माधव पोखरेल, सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष गणेशकुमार पौडेल, नेपाली लेखक संघका अध्यक्ष विष्णुप्रसाद गौतम, आँचल साहित्य कलापुञ्जकी कार्यवाहक अध्यक्ष अनिता न्यौपाने, श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठानका सचिव सुवास खनाल, जनार्दन खनाल, राजकुमार लामिछाने, केशव तौजले, चिरञ्जीवी लामिछाने, डिबी बर्तौला, सानुबाबु खनाल लगायतकाको उपस्थिति रहेको थियो ।