जीवनमा चरा जस्तै थियो मन
पङ्ख फैलाई उड्न
यसरी उड्न कि कसैले पनि
समात्न नसकोस्
इच्छा त थियो
त्यो ठूलो आकाशलाई चुम्ने
मन त थियो त्यस्तो मान्छे बन्ने
जो कुनै पनि अपराधको
घेरामा बाँधिएर नबसोस्
तर सपना किन पूरा भएन मेरो ?
जो केटी अपराधको
घेरामा अल्झिन चाहँदैन
त्यही केटी अहिले
अपराधकै घेराका कारण
संसारबाट बिदा लिएकी छे
जसरी पन्छीलाई उड्न
पूरै आकाश चाहिन्छ
त्यसरी नै चाहिएको थियो
मेरो भागको विशाल आकाश
चाहिएको थिएन संसारबाट बिदा
आखिर गल्ती के थियो र मेरो
यही कि म एक नारी थिएँ
उड्ने पखेटालाई कसरी
काटे ती दुष्टहरुले
गल्ती थियो ती राक्षसहरुको
गल्ती थियो ती दुष्टहरुको
जसले मेरो अस्मिताको साथ खेले
जसले मेरो जीवन बर्बाद गरे
अब हरेक नारी
बाटोमा हिँड्दा पनि
डराएर हिँड्नु पर्नेछ
हेर्नुपर्नेछ, सोच्नुपर्नेछ
कि ती दुष्टहरु यहाँ त छैनन्
आज म एक स्त्रीसँग यस्तो भयो भने
भोलि हजारौँ नारीसँग यस्तो हुनेछ
अनि के गर्यो र सरकारले
हामी नारीका लागि ?
मैले राजनीतिलाई
नराम्रो भनेको हैन
मैले त्यो संसारलाई
नराम्रो भनेको हो
जसले राजनीतिलाई नै
फोहोर बनाउँछन्
अपराधको घेरामा अल्झिएकी छु
अनि मेरो आमाबुबा
के भएको होला उनको ?
त्यो मानिसको जीवन सरल हुँदैन
जसको छोरीको अस्मिताको
साथ खेलिएको हो
के गल्ती थियो र ?
गल्ती त ती राक्षसहरुको थियो
जसले मेरो जीवनलाई
नरक झैँ बनाएका छन्
सरकार अब न्याय चाहियो मलाई
न्याय देऊ