हेटौंडाः मकवानपुर जिल्लामा पहिलो चरणको खोप अभियान सोमबार सकिएको छ । सोमबार अन्तिम दिन भीमफेदी कारागारका कैदीबन्दीहरु ५ सय १ जनालाई कोरोनाविरुद्धको खोप लगाएसँगै खोप अभियान सकिएको हो ।

मकवानपुरमा खोप अभियान पनि सकिएको र खोपको मात्रा पनि सकिएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायले जानकारी दिनुभयो । मकवानपुरमा १२ दिनसम्म चलेको खोप अभियानमा १ हजार ९ सय २१ जनाले खोप लगाएका छन् ।

हेटौंडा अस्पतालका प्रमुख डा. प्रविण श्रेष्ठलाई पहिलो खोपको डोज लगाएर कोरोनाविरुद्ध खोप अभियान मकवानपुरमा सुरु भएको थियो । हेटौंडा अस्पतालबाट लगाइँदै आएको खोप सोमबार भने भीमफेदी गाउँपालिकास्थित भीमफेदी कारागारमै पुगेर कैदीबन्दीहरुलाई लगाइएको स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख उपाध्यायले बताउनुभयो ।

मकवानपुर जिल्लामा पहिलो चरणको खोप स्वास्थ्यकर्मी, सरसफाइकर्मी, स्वयम्सेविकालगायतले लगाएका थिए । यस्तै अब दोस्रो चरणमा पत्रकार, सेना, प्रहरीलगायत धेरै भिडभाड हुने कार्यालयका कर्मचारीहरुलाई खोप लगाइने गरी विवरण संकलन भएको छ ।

करिब ५ हजार जनालाई दोस्रो चरणमा खोप लगाउनका लागि खोपको माग विवरण पठाइएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । ५ हजारमध्ये पत्रकारहरुको संख्या भने ६० जना तोकिएको छ । उहाँले यो संख्या घटबढ हुनसक्ने भन्दै करिब ५ हजार जनालाई खोप लगाउन पुग्ने गरी विवरण पठाइएको प्रमुख उपाध्यायको भनाई छ ।

दोस्रो चरणअन्तर्गत्को खोप काठमाडौं जिल्लाबाट लगाउन सुरु भएपनि मकवानपुरमा भने खोप आइनसकेको उहाँले बताउनुभयो । यस्तै अब आउने खोप भारतले अनुदानमा दिएको कोभिसिल्ड वा अन्य खोप हुने यकिन नभएको बताउनुभयो । छिट्टै खोप आउन सक्ने उहाँले जानकारी दिनुभयो ।