Home मुख्य समाचार मकवानपुरमा सकियो पहिलो चरणको खोप अभियान, १९२१ ले लगाए कोरोनाविरुद्धको खोप

मकवानपुरमा सकियो पहिलो चरणको खोप अभियान, १९२१ ले लगाए कोरोनाविरुद्धको खोप

हेटौंडाः मकवानपुर जिल्लामा पहिलो चरणको खोप अभियान सोमबार सकिएको छ । सोमबार अन्तिम दिन भीमफेदी कारागारका कैदीबन्दीहरु ५ सय १ जनालाई कोरोनाविरुद्धको खोप लगाएसँगै खोप अभियान सकिएको हो ।

मकवानपुरमा खोप अभियान पनि सकिएको र खोपको मात्रा पनि सकिएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायले जानकारी दिनुभयो । मकवानपुरमा १२ दिनसम्म चलेको खोप अभियानमा १ हजार ९ सय २१ जनाले खोप लगाएका छन् ।

हेटौंडा अस्पतालका प्रमुख डा. प्रविण श्रेष्ठलाई पहिलो खोपको डोज लगाएर कोरोनाविरुद्ध खोप अभियान मकवानपुरमा सुरु भएको थियो । हेटौंडा अस्पतालबाट लगाइँदै आएको खोप सोमबार भने भीमफेदी गाउँपालिकास्थित भीमफेदी कारागारमै पुगेर कैदीबन्दीहरुलाई लगाइएको स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख उपाध्यायले बताउनुभयो ।

मकवानपुर जिल्लामा पहिलो चरणको खोप स्वास्थ्यकर्मी, सरसफाइकर्मी, स्वयम्सेविकालगायतले लगाएका थिए । यस्तै अब दोस्रो चरणमा पत्रकार, सेना, प्रहरीलगायत धेरै भिडभाड हुने कार्यालयका कर्मचारीहरुलाई खोप लगाइने गरी विवरण संकलन भएको छ ।

करिब ५ हजार जनालाई दोस्रो चरणमा खोप लगाउनका लागि खोपको माग विवरण पठाइएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । ५ हजारमध्ये पत्रकारहरुको संख्या भने ६० जना तोकिएको छ । उहाँले यो संख्या घटबढ हुनसक्ने भन्दै करिब ५ हजार जनालाई खोप लगाउन पुग्ने गरी विवरण पठाइएको प्रमुख उपाध्यायको भनाई छ ।

दोस्रो चरणअन्तर्गत्को खोप काठमाडौं जिल्लाबाट लगाउन सुरु भएपनि मकवानपुरमा भने खोप आइनसकेको उहाँले बताउनुभयो । यस्तै अब आउने खोप भारतले अनुदानमा दिएको कोभिसिल्ड वा अन्य खोप हुने यकिन नभएको बताउनुभयो । छिट्टै खोप आउन सक्ने उहाँले जानकारी दिनुभयो ।

Exit mobile version