सांकेतिक चित्रः गुगल ।

हेटौैंडाः मकवानपुरको भीमफेदी गाउँपालिका–९, गोलमोडमा शनिबार भएको सुमो दुर्घटनामा परी घाइते एकजनाको उपचारको क्रममा मृत्यु भएको छ । ९ जना घाइते भएका छन् । मृत्यु हुनेमा सप्तरी बेनौली–२ का अन्दाजी ३३ वर्षीय परमान्द चौधरी रहेका छन् । हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचारको क्रममा शनिबार राती ११ बजेर ३० मिनेटमा चिकित्सकले चौधरीलाई मृत घोषित गरेको प्रहरीले जनाएको छ ।

शनिबार साँझ ८ बजे त्रिभुवन राजपथमा काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको ना १ ज ४१३८ नम्बरको सुमो दुर्घटना भएको थियो । सुमो दुर्घटनामा परी घाइते भएका चौधरीको उपचारको क्रममा मृत्यु भएको हो । घाइतेहरुको हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता ईन्द्रबहादुर रानाले जानकारी दिनुभएको छ ।

दुर्घटनापछि फरार भएका सुमो चालक प्रहरीको सम्पर्कमा आएको छ । पर्सा जिल्लाको बीरगन्ज महानगरपालिका–२० बस्ने २६ वर्षीय चालक श्रीराम चौरसिया आइतबार बिहान ८ बजे जिल्ला प्रहरी कार्यालयमा आफैं हाजिर भएको प्रहरी प्रवक्ता रानाले बताउनुभएको छ । चालकको वयानअनुसार सडकमा हिउँ जमेका कारण चिप्लिएर सुमो दुर्घटना भएको भन्ने बुझिएको प्रहरीको भनाइ छ ।