हेटौंडाः रेडियो मकवानपुरको वार्षिकोत्सवको अवसरमा मिडिया हाउसबीच आयोजना गरिएको रेडियो मकवानपुर कप फुटसल प्रतियोगितामा रेडियो सन्देश र टिम टिभी फाइनलमा पुगेका छन् ।
मंगलबारबाट सुरु भएको प्रतियोगितामा रेडियो सन्देशले रेडियो मकवानपुर र रेडियो आकाशगंगालाई हराउँदै फाइनलमा स्थान बनाएको हो । यस्तै टिम टिभीले सक्रिय पत्रकार समूह र नवयुग अनलाइन मिडियालाई हराउँदै उपाधि भिडन्त पक्का गरेको हो ।
फाइनल खेल बुधबार दिउँसो हुनेछ । प्रतियोगिताको विजेताले नगद १५ हजार र उपविजेताले नगद ७ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । फाइनल खेलअघि महिला पत्रकारहरुको बीचमा मैत्रीपूर्ण फुटसल प्रतियोगितासमेत हुने आयोजकले जानकारी दिएको छ ।
रेडियो मकवानपुरले वार्षिकोत्सवको अवसरमा गत वर्षबाट मिडिया कप फुटसल प्रतियोगिता सञ्चालन सुरु गरेको हो । बागमती प्रदेश खेलकुद परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो । प्रतियोगिता उद्घाटन गर्दै भण्डारीले पत्रकारहरुले नै खेलकुदका गतिविधिको आयोजना गर्दा ‘क्रेज’ बढ्ने बताउनुभयो । प्रदेश खेलकुद परिषद् खेलकुद र खेलाडीको सर्वाङ्गीण विकासका लागि सदैव तयार रहेको उहाँले जानकारी दिनुभयो ।
पत्रकार महासंघ मकवानपुर अध्यक्ष हरि हुमागाईंले कठिन अवस्थामा पनि रेडियो मकवानपुरले सामुदायिक रेडियोको भूमिका निर्वाह गरिरहेको बताउनुभयो । मकवानपुर जिल्ला फुटवल संघका अध्यक्ष टीकाराम लामाले मकवानपुरमा पत्रकारहरुले खेल क्षेत्रको विकासमा सकारात्मक सहयोग गर्दै आएकोमा खुसी व्यक्त गर्नुभयो ।
रेडियो मकवानपुर सञ्चालक समिति अध्यक्ष आनन्दराम पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश सल्लाहकार गिरिजा अधिकारी, मकवानपुर जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख राजन दाहाल खुसराज, मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक रमेश कोइराला, पत्रकार महासंघ मकवानपुर उपाध्यक्ष कुमार अधिकारी, प्रेस युनियन मकवानपुर उपाध्यक्ष मणिराज गौतम, मकवानपुर जिल्ला फुटबल संघ सदस्य विकेशलाल श्रेष्ठलगायतको आतिथ्यता रहेको थियो ।