हेटौंडाः हेटौंडामा जारी विजय युथ हेटौंडा गोल्डकपमा सेन्ट्रल कलेज बीएफसी भरतपुर सेमीफाइनल प्रवेश गरेको छ । आइतबार भएको पहिलो खेलमा काठमाडौंको एफसी रियालेलाई ४–१ गोलअन्तरले पराजित गर्दै भरतपुर सेमीफाइनल प्रवेश गरेको हो ।
भरतपुरका लागि म्यान अफ द म्याच जोन ग्लोरीले ह्याट्रिक पूरा गरे । खेलको २५ औं मिनेटमा, ३७ औं र ६९ औं मिनेटमा गोल गर्दै जोनले ह्याट्रिक पूरा गरेका हुन् । जोनले दोस्रो ३७ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हुन् । भरतपुरका रञ्जीत आले मगरले खेलको १८ औं मिनेटमा गोल गरे । म्यान अफ द म्याच जोनले नगद पाँच हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेका छन् ।
म्यान अफ द म्याचको ट्रफी तथा नगद पुरस्कार हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ का अध्यक्ष राजेश बानियाँ, बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले हस्तान्तरण गर्नुभएको थियो । एफसी रियालेका लागि रजक तिवारीले ५७ औं मिनेटमा सान्त्वना गोल गरे । हेटौंडाको वन विज्ञान क्याम्पसको खेल मैदानमा आइतबारको दोस्रो खेल सर्लाही जिल्ला फुटबल संघ र आयोजक एफसी विजय युथ भइरहेको छ ।