हेटौंडाः हेटौंडामा जारी भिडोल विजय युथ हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आइतबार भएको दोस्रो खेलमा विजयी हुँदै आयोजक एफसी विजय युथ सेमीफाइनलमा प्रवेश गरेको छ । हेटौंडाको वन विज्ञान क्याम्पसको खेल मैदानमा भएको खेलमा सर्लाही जिल्ला फुटबल संघलाई २–० गोलअन्तरले पराजित गर्दै आयोजक एफसी विजय युथ सेमीफाइनल प्रवेश गरेको हो ।
एफसी विजय युथका लागि अफ्रिकी खेलाडी शाहिद र हिसुफ थपलियाले १–१ गोल गरे । दाजुभाई स्वीट्स म्यान अफ द म्याच एफसी विजय युथका विमल राना मगर घोषित भए । विमलले नगद पाँच हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेका छन् ।
यसअघि आइतबार नै भएको पहिलो खेलमा सेन्ट्रल कलेज बीएफसी भरतपुर सेमीफाइनल प्रवेश गरेको थियो । आइतबार भएको पहिलो खेलमा काठमाडौंको एफसी रियालेलाई ४–१ गोलअन्तरले पराजित गर्दै भरतपुर सेमीफाइनल प्रवेश गरेको हो । चितवनको बीएफसी भरतपुरले फाइनल प्रवेशका लागि चितवनकै हर्दि युवा समाजसँग मंगलबार खेल्नेछ ।