हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाले नगर क्षेत्रका विद्यालयका प्रधानाध्यापकहरुको बैठक बोेलाएको छ । भोलि बिहीबार र शुक्रबार सिद्धार्थ माविको सभाहलमा ११ बजेका लागि बैठक बोलाइएको हो ।

हेटौंडा उपमहानगर क्षेत्रमा सञ्चालित सामुदायिक र संस्थागत गरी एक सय २३ विद्यालयका प्रधानाध्यापकहरु बैठकमा सहभागी हुने हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखा प्रमुख गंगाधर रिमालले जानकारी दिनुभयो ।

बैठकमा विद्यालयको प्रशासनिक कार्य र शिक्षण सिकाई क्रियाकलापको बारेमा छलफल हुने प्रमुख रिमालले बताउनुभयो । शिक्षक तथा कर्मचारीको तलब भत्ता सदुपयोग, गुणस्तरीय शिक्षा प्रणाली, विद्यालयको आर्थिक स्थिति, विद्यालयको वातावरण र सञ्चार आदानप्रदानबारे पनि बैठकमा छलफल हुने उहाँले जानकारी दिनुभयो ।