फाइल तस्बिरः हेटौंडा उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाले जानकारी र अनुमतिबिना थप पाठ्यपुस्तक नलगाउन तथा पोशाक परिवर्तन नगर्न विद्यालयहरुलाई सचेत गराएको छ । महाशाखाले एक सूचना जारी गर्दै थप पुस्तक लगाउन तथा पोशाक परिवर्तन गर्नुपरे अग्रिम जानकारी गराउन पनि भनेको छ ।

विद्यालयले अनुमतिबिना अभिभावक तथा विद्यार्थीलाई जथाभावी किताब किन्न लगाएको र पोशाक परिवर्तन गरिरहेको गुनासो आएपछि सूचना जारी गरिएको शिक्षा विकास महाशाखा प्रमुख गंगाधर रिमालले जानकारी दिनुभयो । विद्यार्थीले किनेका कतिपय किताबहरु फरक लेखकको परेको भन्दै विद्यालयहरुले अर्को किताब किन्न लगाउँदा पैसा खेर गइरहेकोले त्यस्तो नगर्न महाशाखाले आग्रह गरेको हो ।

विद्यालयहरुले तत्काल सूचना जारी गरी किताब किन्न लगाउँदा अभिभावकलाई मार परिरहेको भन्दै शिक्षा विकास महाशाखा प्रमुख रिमालले थप किताब किन्न लगाउनु परे ३ महिना अगाडि विद्यार्थीलाई जानकारी गराउनुपर्ने बताउनुभयो । साथै, विद्यालयहरुले पोशाक परिवर्तन गर्नुपरे नयाँ शैक्षिक सत्र सुरु हुनुभन्दा अगाडि नै अभिभावक र विद्यार्थीलाई जाकारी गराउनुको साथै महाशाखाको अनुमति लिनुपर्ने महाशाखाको सूचनामा उल्लेख गरिएको छ ।