Home समाचार विविधता भित्र एकताः जिसस प्रमुख खुलाल

विविधता भित्र एकताः जिसस प्रमुख खुलाल

जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलाल ।

हेटौंडाः जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले नेपाली समाजमा विविधता भित्र एकता रहेको बताउनुभएको छ । हेटौंडा–६, गौरीटारस्थित श्रीकृष्ण प्रणामी मुल मन्दिरको ५२ औं स्थापना दिवसका अवसरमा आयोजित साप्ताहिक पाठपारायणको समापन कार्यक्रममा प्रमुख खुलालले हाम्रो धर्म संस्कृति, रीति परम्पराले नै नेपाललाई एकताको सुत्रमा बाँधेको भन्नुहुँदै यो नै हाम्रो विशेषता र मौलिकता भएको बताउनुभयो ।

उहाँले धर्म, संस्कृतिको माध्यमबाट समुदायलाई सुसंस्कृत र परिस्कृत बनाउन सकिने र समुदायलाई एकताबद्ध बनाउन मद्दत गर्ने बताउनुभयो । धर्म, संस्कृतिलगायत विविधता नै नेपालीको विशेषता भएको भन्दै समुदायलाई सुसंस्कृत र परिस्कृत बनाउँदै समृद्ध नेपाल निर्माणमा सदुपयोग गर्नुपर्ने बताउनुभयो । धर्म संस्कृति, परम्परालाई व्यवस्थित गर्न सके मात्र सुसंस्कृत र अनुशासित समाज निर्माण गर्न सकिने उहाँको भनाइ थियो । समाजमा नकारात्मकता बढ्दै गएको अहिलेको परिप्रेक्षमा धर्मिक संस्कारका माध्यमबाट अनुशासित र मर्यादित र सकारात्मक समाज निर्माण गर्न मद्दत पुग्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

उहाँले कुनै पनि धर्म, संस्कृतिलाई संकिर्णताको घेरा भित्र राख्न नहुने भन्नुहुँदै धर्म संस्कृतिलाई व्यवस्थित गर्दै समुन्नत समाज निर्माणमा योगदान गर्न समेत आग्रह गर्नुभयो । सो अवसरमा उहाँले कृष्ण प्रणामी सेवा समितिमा देखिएको एकता र सहयोगको भावनाको प्रशंसा समेत गर्नुभयो । श्रीकृष्ण प्रणामी मुल मन्दिर व्यवस्थापन समितिका अध्यक्ष वासुदेव खतिवडाको सभाध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष एवम् सहयोगी मन नेपालका अध्यक्ष केदारप्रसाद चौलागाई, श्रीकृष्ण प्रणामी सेवा समितिका जिल्ला अध्यक्ष अर्जुनप्रसाद वाग्ले, केन्द्रिय सदस्यहरु रामकृष्ण तिवारी, बद्री प्रसाद चौलागाईलगायतको सहभागिता थियो । २०७२ सालको भूकम्पका कारण क्षति भएको श्रीकृष्ण प्रणामी मुल मन्दिर करिब २ करोडको लागतमा निर्माण गरिएको हो ।

Exit mobile version