हेटौंडाः मकवानपुरको बागमती गाउँपालिकामा बालबालिकाका लागि हाजिरीजवाफ प्रतियोगिताको आयोजना गरिएको छ । गाउँपालिकाको युवा सञ्जालले हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको हो । बागमती–७, पाथीभरास्थित चौरा आधारभूत विद्यालय परिसरमा आयोजित हाजिरीजवाफमा निशा राई, निशा बिक, आस्मा लोप्चन र ग्रीष्मा भोलनको समूह प्रथम भएको छ ।
यस्तै शेखर घलान, आकाश भोलन, आयुष श्रेष्ठ र अनिल लोप्चनको समूह द्वितीय भएको छ भने सागर न्यौपाने, नवीन बिक, सुगम राई र शेखर दोङको समूह तृतीय भएको छ । प्रथम, द्वितीय र तृतीय हुने समूहका सदस्यलाई आयोजकले पुरस्कार स्वरुप शैक्षिक सामग्री प्रदान गरिएको युवा सञ्जालकी अध्यक्ष रिना श्रेष्ठले जानकारी दिनुभएको छ । ग्रामीण महिला सेवा केन्द्र मकवानपुरले प्लान इन्टरनेशनलको सहयोगमा सञ्चालित परिवर्तनका संवाहक कार्यक्रममा सहभागी बालबालिका हाजिरीजवाफ प्रतियोगितामा सहभागी थिए ।
हाजिरीजवाफ प्रतियोगितामा बालअधिकार, बालविवाहसम्बन्धी कानुनी व्यवस्था जस्ता विषयबारे प्रश्न सोधिएको थियो । युवा सञ्जालकी सदस्य रिना श्रेष्ठको अध्यक्षतामा हाजिरीजवाफ प्रतियोगिता भएको हो । आगामी दिनमा पनि युवा सञ्जालले बालबालिकाका लागि रचनात्मक गतिविधि सञ्चालन गर्ने श्रेष्ठले बताउनुभएको छ ।